नाडा अटो शो २०२६

अटोमोबाइलमा आत्मनिर्भर बन्न १० वर्षे नीति आवश्यक : अध्यक्ष उप्रेती

मंगलबार, ०९ भदौ २०८३, १० : २५

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब सवारीसाधन आयात गर्ने बजारमा मात्र सीमित नरही स्वदेशमै अटोमोबाइल उत्पादन गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२६ को अवसरमा बोल्दै अध्यक्ष उप्रेतीले सरकारले दीर्घकालीन नीति बनाए नेपालमै सवारीसाधन उत्पादन गर्न सकिने सम्भावना रहेको बताए।

उनले पछिल्लो पाँच दशकमा नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै अहिले नेपालमै सवारीसाधन एसेम्बल तथा उत्पादन सुरु भइसकेको बताए। उनका अनुसार सरकारले अबको १० वर्षका लागि स्पष्ट र स्थिर नीति बनाउने हो भने नेपाल अटोमोबाइल उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न सक्छ।

‘पचास वर्षअघि नेपालमा सवारीसाधन ल्याएर बिक्री गर्ने अवस्था थियो, अहिले नेपालमै सवारीसाधन उत्पादन सुरु भएको छ,’ उप्रेतीले भने, ‘सरकारले १० वर्षे दीर्घकालीन योजना बनाउने हो भने नेपालमै अटोमोबाइल उत्पादन गरेर आत्मनिर्भर हुने बाटोमा जान सक्छौं।’

उनले स्वदेशमै उत्पादन बढाउन सके सवारीसाधन खरिदका लागि बाहिरिने ठूलो रकम रोक्न सकिने बताए। अटोमोबाइल क्षेत्रलाई केवल व्यापारका रूपमा नभई उद्योग, रोजगारी र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ।

उप्रेतीका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ। सरकारले उपयुक्त नीति बनाए यस क्षेत्रले थप रोजगारी सिर्जना गर्न सक्ने उनको दाबी छ।

यस वर्षको नाडा अटो शोको मुख्य नारा ‘उद्योगदेखि रोजगारीसम्म’ राखिएको छ। सोहीअनुसार प्रदर्शनीमा नेपालमै एसेम्बल तथा उत्पादन भएका सवारीसाधन, पार्टपुर्जा, ब्याट्री, ल्युब्रिकेन्ट्सलगायत स्वदेशी उत्पादनलाई समेत प्राथमिकता दिइएको छ।

अध्यक्ष उप्रेतीले अटो शो गाडी बिक्री गर्ने थलोमा मात्र सीमित नरहेको बताए। उनका अनुसार प्रदर्शनीले नेपालको यातायात तथा मोबिलिटी क्षेत्र आगामी दिनमा कुन दिशामा जान सक्छ भन्ने सम्भावनासमेत देखाउनेछ।

‘अटो शोको उद्देश्य गाडी बेच्ने मात्र होइन, नेपालको यातायात तथा गतिशीलता क्षेत्र अब कहाँ जान सक्छ भनेर सम्भावनाको खोजी गर्नु पनि हो,’ उप्रेतीले भने।

यस वर्षको अटो शोमा १५० भन्दा बढी ब्रान्ड र २०० भन्दा बढी स्टल सहभागी छन्। नयाँ विद्युतीय सवारी, नेपालमै एसेम्बल भएका सवारीसाधन, अटोमोबाइल पार्टपुर्जा, चार्जिङ प्रविधि, वित्तीय तथा बीमा सेवासहितका उत्पादन तथा सेवा प्रदर्शनीमा राखिएका छन्।

नाडाले आफ्नो ५०औँ स्थापना वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको यस संस्करणलाई विगतका भन्दा विशेष बनाएको जनाएको छ। भदौ ९ देखि १४ गतेसम्म चल्ने प्रदर्शनीले नेपालमा अटोमोबाइल क्षेत्रको पाँच दशकको यात्रासँगै आगामी सम्भावनालाई समेत प्रस्तुत गर्नेछ।

मंगलबार, ०९ भदौ २०८३, १० : २५

प्रतिक्रिया