काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो। नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इंक. (बीवाईडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजिपालका तर्फबाट उत्सव कार्की सहभागी थिए।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मुख्य उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्।
उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट तथा विपद्का समयमा नाइमा सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन्।
“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन्।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले नाइमाले प्रदान गरेको सहयोगको प्रशंसा गरे। उनले विपद्को संवेदनशील र कठिन अवस्थामा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए।
प्रतिक्रिया