यशोदा ग्रुपले बाढीपीडितलाई दियो ३ करोड ५१ लाख नगद, ३० लाख बराबरको करेन्ट चाउचाउ

विहीबार, २५ भदौ २०८३, १२ : ३१

काठमाडौं– यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेका छन्।

कम्पनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सरकारलाई हस्तान्तरण गरेका हुन्। सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

यशोदा ग्रुपले नगद सहयोगसँगै बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रका नागरिकका लागि ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउसमेत उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक खाद्य सामग्रीका रूपमा चाउचाउ पठाएर सम्बन्धित निकाय तथा प्रभावित नागरिकमार्फत प्रत्यक्ष वितरण गरिएको थियो।

विपद्बाट प्रभावित नागरिकलाई आवश्यक परे थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको कम्पनीले जनाएको छ।

यशोदा ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आवश्यक अन्य जुनसुकै प्रकारको सहयोग गर्नसमेत पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

नगद ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ र चाउचाउतर्फ ३० लाख रुपैयाँ गरी यशोदा फुड्स र श्रीराम टोबाकोको कुल सहयोग ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबर पुगेको छ।

विहीबार, २५ भदौ २०८३, १२ : ३१

प्रतिक्रिया