काठमाडौँ - आज जेनजि आन्दोलनको समीक्षा भैरहँदा अर्थतन्त्रमा भएको आक्रमणको पनि चर्चा भैरहेको छ । यो आन्दोलनको रहष्य अझै पर्दाफास भएको छैन । मुलुक बिरुद्धको गम्भीर षडयन्त्र हो भन्ने कुरामा त प्रशस्त तथ्यहरु सार्वजनिक भैसकेका छन् । तर कसले र किन यस्तो षडयन्त्रको डिजाइन गरे भन्ने प्रश्नको जवाफ भने अझै अनुत्तरित छ । यो कुरा प्रष्ट छ कि, आन्दोलनले नेपालको राजनीतिक समीकरण मात्रै बदलेन, अर्थतन्त्रमा पनि ठूलो क्षति पुर्यायो। तत्कालीन सरकार परिवर्तनदेखि नयाँ राजनीतिक शक्ति उदयसम्मको राजनीतिक परिणाम दुई दिनमै देखिए पनि आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा निजी सम्पत्तिको पुनर्निर्माण र त्यसको आर्थिक हिसाब भने एक वर्षपछि पनि पूर्ण रूपमा टुंगिएको छैन।
राष्ट्रिय योजना आयोगको क्षति मूल्यांकनअनुसार आन्दोलनका क्रममा सरकारी, निजी, घरपरिवार तथा सामुदायिक सम्पत्तिमा गरी ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको थियो। आयोगले त्यसलाई तत्कालीन कुल गार्हस्थ्य उत्पादनको करिब १।४ प्रतिशत बराबर मानेको थियो। आन्दोलनबाट क्षति पुगेका संरचना तथा भौतिक सम्पत्तिको पुनर्निर्माण र पुनःस्थापनाका लागि छुट्टै कार्ययोजनासमेत सरकारले तयार गरेको छ।
तर प्रत्यक्ष भौतिक क्षति मात्रै जेनजी आन्दोलनको आर्थिक मूल्य होइन। अर्थ मन्त्रालयको मध्यावधि समीक्षामा आन्दोलनपछिको असरका कारण वस्तु तथा सेवा उत्पादनमा थप १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको थियो। यसरी प्रत्यक्ष भौतिक क्षति र उत्पादन तथा सेवा क्षेत्रमा भएको नोक्सानी जोड्दा तत्कालीन आर्थिक क्षति ९८ अर्ब रुपैयाँभन्दा माथि पुग्छ।
आन्दोलनबाट २ हजार ९९९ जनाको रोजगारी प्रत्यक्ष प्रभावित भएको सरकारी तथ्यांक छ। त्यसमध्ये २ हजार ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका थिए।
राजनीतिक परिवर्तनको गति र आर्थिक पुनःस्थापनाको गति भने फरक देखिएको छ। एक वर्षमा केही ठूला निजी प्रतिष्ठान र सरकारी संरचना सञ्चालनमा फर्किएका छन्। तर क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण कति भयो, कति खर्च भयो र कति अझै बाँकी छ भन्ने एकीकृत तथ्यांक सरकारले सार्वजनिक गरेको छैन।
आन्दोलनकारीहरुले निर्वाचनमा ठूलो बहुमतका साथ निर्वाचन विजय प्राप्त गरे । अहिले उनीहरुकै नेतृत्वमा शक्तिशाली सरकार सञ्चालन भैरहेको छ । तर आन्दोलनले छाडेको पीडा, क्षति र सामाजिक अराजकता भने लिकमा आउन सकेको छैन । अर्थतन्त्रमा परेको असर त अझै कहिले सुधार हुने हो अहिले नै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया