वाईसीएलले बाढीपीडितका लागि अस्थायी आवास निर्माण थाल्यो

आइतबार, २८ भदौ २०८३, १३ : ३४

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय वाईसीएल नेपालले बाढीपीडित परिवारका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ।

वाईसीएलले करिब ६०० स्वयंसेवक परिचालन गरी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गर्दै आएको जनाएको छ। संगठनका अनुसार प्रभावित परिवारको गास, बास र अन्य आवश्यकतामा सहयोग पुर्‍याउने कामसमेत भइरहेको छ।

वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार सडक सञ्जाल अवरुद्ध भएका र कठिन भूगोलका प्रभावित क्षेत्रमा वैकल्पिक बाटो प्रयोग गरी आवश्यक सामग्री पुर्‍याइएको छ। रसुवामा ग्यास, पेट्रोल, सोलार बत्ती, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल फोन, सेनिटरी प्याडलगायत सामग्री पुर्‍याइएको उनले बताए।

त्यस्तै, नुवाकोटको त्रिशूलीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङ हुँदै विदुर नगरपालिकाका अत्यधिक प्रभावित वडा नम्बर ७, ८ र ९ मा सिरक, डसना, तन्ना, औषधि, स्टेसनरी, खाद्यान्न, चप्पल तथा बालबालिकाका कपडालगायत सामग्री वितरण गरिएको वाईसीएलले जनाएको छ।

राहत वितरणसँगै नुवाकोट र धादिङका प्रभावित घरको सरसफाइसमेत भइरहेको छ। स्थानीयको आवश्यकता र सुझावका आधारमा अस्थायी आवास निर्माण सुरु गरिएको अध्यक्ष ओलीले जानकारी दिए।

पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठुलो खोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको वाईसीएलले जनाएको छ।

बाढी गएको लामो समय बितिसक्दा पनि कतिपय पीडित परिवारको घर सरसफाइ हुन नसकेको र बसोबासको टुंगो लाग्न नसकेको भन्दै वाईसीएलले तत्काल अस्थायी आवास निर्माण आवश्यक भएको जनाएको छ।

‘निभेको चुलो बालौँ, मरेको आशा जगाऔँ’ अभियानअन्तर्गत बाढीपीडितलाई खाना पकाउने ग्यास तथा खाद्यान्नसमेत उपलब्ध गराउँदै आएको वाईसीएलले जनाएको छ। ग्यास अभाव, सीमित स्रोतसाधन तथा केन्द्र सरकारको असहयोगजस्ता प्रतिकूलताबीच संगठनात्मक जनसम्पर्क र सहयोगी दाताको सहकार्यमा राहत तथा पुनःस्थापनाको काम अघि बढाइएको अध्यक्ष ओलीले बताए।

आइतबार, २८ भदौ २०८३, १३ : ३४

प्रतिक्रिया