विमला ज्ञवाली
गरिबको घरमा बिहान हुन्छ,
तर चुलोमा आगो बल्दैन।
आकाशबाट घाम त झुल्किन्छ,
तर उसको भाग्यमा उज्यालो पलाउँदैन।
फाटेको लुगा, खाली पेट,
आँखाभरि सपना बोकेर,
भोको पेटमा पटुकी कसी,
हिँड्छ ऊ जिन्दगीसँग लडेर।
छोराछोरीको भोको अनुहार।
आमाको मुटु चिरिन्छ,
एक मुठी भात जुटाउन खोज्दा,
बुबाको जवानी रित्तिन्छ।
महलभित्र भोज चलिरहँदा,
झुपडीमा भोकको रुवाइ छ,
कसैको थालमा खाना खेर जान्छ,
कसैको भागमा आँसु रित्तिएको थाली छ।
गरिबी केवल पैसाको अभाव होइन,
यो त अवसर खोसिएको कथा हो,
मेहनत गर्ने हात बाँधिएको,
न्याय बेचिएको व्यथा हो।
प्रतिक्रिया