मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको  एमालेको आरोप

बुधबार, ३१ भदौ २०८३, १५ : ४२

  काठमाडौं - चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ।  

एमालेले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाइएको छ। उनले भनेका छन्, ‘नेपालीहरूका सांस्कृतिक चाडपर्वहरू नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ।’

ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाउँदै आचार्यले  एमालेविरुद्ध दुष्प्रचार गरिएको बताएका छन्। उनका अनुसार ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृतिम परिचय’ दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको छ। उनले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत लगाएका छन्।

बुधबार, ३१ भदौ २०८३, १५ : ४२

प्रतिक्रिया