काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संकटमा रहेका बेला नेतृत्वबाट अलग हुन नहुने धारणा अघि सारेका छन्। सोमबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले संकटका बेला नेतृत्वले पार्टीलाई अलपत्र छाड्न नमिल्ने बताएका हुन्।
ओलीले बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग देखेर किसानले खेत नछोडेजस्तै पार्टी संकटमा रहेका बेला नेतृत्वले जिम्मेवारीबाट पन्छिन नमिल्ने तर्क गरेका छन्।
राष्ट्रिय राजनीतिदेखि पार्टीभित्रका समस्या र आगामी कार्यभार समेटिएको प्रतिवेदनमा ओलीले एमालेको विगतको पुनर्गठनको इतिहाससमेत उल्लेख गरेका छन्। उनले केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन हुँदै २०७५ सालसम्म पार्टीमा भएका पुनर्गठनका विभिन्न घटनालाई सन्दर्भमा राखेका छन्।
ओलीले अहिलेको अवस्थालाई विगतका पुनर्गठनका घटनासँग तुलना गर्न नमिल्ने धारणा प्रतिवेदनमा राखेका छन्। उनका अनुसार पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभई निश्चित राजनीतिक तथा सांगठनिक परिस्थितिमा हुने प्रक्रिया हो।
‘के हो पुनर्गठन रु? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले–कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ । पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन,’ प्रतिवेदनमा उल्लेख छ।
एमालेमा पछिल्लो समय निर्वाचन परिणामको समीक्षा र पार्टी पुनर्गठनलाई लिएर बहस चलिरहेको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनसमेत केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूचीमा राखिएको छ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ। बैठक असोज ७ गतेसम्म चल्ने बताइएको छ।
प्रतिक्रिया