काठमाडौं- दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले चीनमै उत्पादन गरेको आफ्नो पहिलो विद्युतीय क्रसओभर आयोनिक भी आगामी सेप्टेम्बर २९ देखि चीनमा बिक्री सुरु गर्ने भएको छ।
हुन्डाईको चीनस्थित संयुक्त उपक्रम बेइजिङ हुन्डाईले चीनमा आयोनिक ब्रान्डअन्तर्गतको पहिलो मोडलका रूपमा आयोनिक भी सार्वजनिक गर्न लागेको हो। कम्पनीले यसको बुकिङ यसअघि नै खुलाइसकेको छ। आयोनिक भीको सुरुआती मूल्य १७ हजार ६०० अमेरिकी डलर तोकिएको छ। यो मोडल तीन भेरियन्टमा उपलब्ध हुनेछ।
आयोनिक भीलाई हुन्डाईले आयोनिक सिरिजका अन्य मोडलभन्दा फरक ‘द ओरिजिन’ डिजाइन भाषामा तयार पारेको छ। सेडान र एसयूभीको डिजाइनलाई संयोजन गरिएको यो गाडी क्रसओभर शैलीमा निर्माण गरिएको हो।
विशेषगरी चिनियाँ बजारलाई लक्षित गरी तयार पारिएको आयोनिक भीको सम्पूर्ण डिजाइन प्रक्रिया हुन्डाई चाइना डिजाइन सेन्टरले गरेको हो। ‘चाइना फर्स्ट’ अवधारणामा विकास गरिएको यो गाडीलाई भविष्यमा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने हुन्डाईको लक्ष्य छ।
आयोनिक भीको अगाडिको भागमा परम्परागत ग्रिलको सट्टा क्लोज प्यानल प्रयोग गरिएको छ। दुवैतर्फ तेर्सो डे–टाइम रनिङ लाइट, बम्परमा एकीकृत हेडलाइटसहितको स्प्लिट लाइटिङ डिजाइन, फ्रेमलेस डोर र ‘भी’ आकारका ह्वीलले गाडीलाई फरक स्वरूप दिएका छन्। पछाडिको भागमा डाइमेन्सनल स्टार ट्र्याक टेललाइट प्रयोग गरिएको छ।
गाडीको लम्बाइ ४ हजार ९०० मिलिमिटर, चौडाइ १ हजार ८९० मिलिमिटर र उचाइ १ हजार ४७० मिलिमिटर रहेको छ। यसको ह्वीलबेस २ हजार ९०० मिलिमिटर छ।
आयोनिक भीमा १४० किलोवाट र १६८ किलोवाटका दुई विद्युतीय मोटर विकल्प उपलब्ध छन्। यी मोटरले क्रमशः १८८ र २२५ हर्सपावर शक्ति उत्पादन गर्छन्।
ब्याट्रीतर्फ सीएटीएलका ५३।५ किलोवाट–आवर र ६६।८ किलोवाट–आवर क्षमताका दुई विकल्प उपलब्ध छन्। चिनियाँ परीक्षण मापदण्ड सीएलटीसीअनुसार यी ब्याट्रीले क्रमशः ५२० देखि ६५० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ।
आयोनिक भी साइबर गोल्ड, डाइमेन्सन पर्पल, गामा ग्रीन, म्याग्नेटिक ग्रे, फोटोन ह्वाइट, फ्लोइङ सिल्भर र नाइट ब्लेड ब्ल्याकसहित विभिन्न रङ विकल्पमा उपलब्ध हुनेछ।
गाडीको भित्री भागमा ‘नेबुला र्याप अराउन्ड’ डिजाइन प्रयोग गरिएको छ। नेबुला लाइट एम्बियन्ट लाइटिङ, अल्कान्टारा र विभिन्न चम्किला एक्सेन्टले यसको भित्री भागलाई प्रिमियम स्वरूप दिएका छन्।
यसको मुख्य आकर्षण क्वालकम स्न्यापड्रैगन ८२९५ चिपबाट सञ्चालित २७ इन्चको ४के केन्द्रीय नियन्त्रण स्क्रिन हो। इन्फोटेनमेन्ट प्रणालीमा बाइडुको अर्नी बोट र बाइटडान्सको दोबाओलगायत कृत्रिम बौद्धिकतामा आधारित ठूला भाषा मोडलहरू एकीकृत गरिएको छ। साथै, यसमा ‘साइबर आई’ हेड–अप डिस्प्ले पनि उपलब्ध छ।
बौद्धिक चालक सहायता प्रणालीतर्फ आयोनिक भीमा मोमेन्टाको सहकार्यमा विकसित चालक सहायता प्रणाली प्रयोग गरिएको छ। यसले उच्च गतिमा ‘नेभिगेसन अन पाइलट’ सुविधासमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ।
प्रतिक्रिया