सुनचाँदी व्यवसायीको सहयोग प्रधानमन्त्री उद्धार कोषमा, ४० लाख ५ हजार हस्तान्तरण

मंगलबार, ०६ असोज २०८३, ११ : ०२

काठमाडौं- बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीबाट संकलित ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आह्वानमा व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम महासंघले एकद्वार प्रणालीमार्फत सरकारको उद्धार कोषमा हस्तान्तरण गरेको हो।

महासंघका महासचिव तथा संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक निरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको महासंघले जनाएको छ। रकम सिटिजन्स बैंक इन्टरनेशनलको चेकमार्फत हस्तान्तरण गरिएको हो।

राहत रकम हस्तान्तरणका क्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशरबहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा र कार्यालय प्रमुख राम महर्जनलगायतको उपस्थिति थियो। त्यस्तै रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल र नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवा पनि कार्यक्रममा सहभागी थिए।

महासंघले संकलित बाँकी रकममा आफ्नै कोषबाट थप गरी यस क्षेत्रसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउने तयारी गरेको छ। सम्बन्धित परिवारको अवस्था र आवश्यकताका आधारमा राहत वितरण गरिने महासंघले जनाएको छ।

भदौ १० गते आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएपछि महासंघले भदौ १५ गते आकस्मिक अनलाइन बैठकमार्फत राहत तथा उद्धार अभियान अघि बढाउने निर्णय गरेको थियो।

महासंघले राहत अभियानमा आर्थिक सहयोग गर्ने व्यवसायी, पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश महासंघ तथा आबद्ध सदस्य संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विपद् प्रभावितको राहत, सहयोग र पुनःस्थापनामा सहकार्य जारी राख्ने जनाएको छ।
 

मंगलबार, ०६ असोज २०८३, ११ : ०२

प्रतिक्रिया