मलेसियाली प्रधानमन्त्रीसँग बालेनको टेलिफोन वार्ता, के भयो कुरा ?

मंगलबार, ०६ असोज २०८३, १२ : २५

काठमाडौं - राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रश्थान गर्नु पूर्व प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग विशेष छलफल गरेका छन्। उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारे।

‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग भने, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’

प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने, ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।’

मंगलबार, ०६ असोज २०८३, १२ : २५

प्रतिक्रिया