एमाले केन्द्रीय कमिटी बैठक

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न माग, योगेशको अलगै प्रतिवेदन पेश

मंगलबार, ०६ असोज २०८३, १४ : ०७

काठमाडौं- नेकपा एमालेको जारी तेस्रो केन्द्रीय कमिटी बैठकको दोस्रो दिन नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा वितरण गरी त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गरेका छन्।

मंगलबारको बैठकमा नेताहरू झपट रावल, कृष्णभक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापालगायत एकैपटक आसनबाट उठेर कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न माग गरेका हुन्।

चार नेताले एकैपटक प्रतिवेदन माग गरेपछि अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको प्रतिवेदनका आवश्यक विषय आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमै समेटिसकेको भन्दै नेताहरूलाई सम्झाउने प्रयास गरेका थिए।

बैठकमा उपमहासचिव योगेश भट्टराईले भने अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाएका छन्। भट्टराईले बुझाएको दस्तावेजमा पार्टी पुनर्गठन आवश्यक रहेको र कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिइएको बताइएको छ।

मंगलबारको बैठकमा यो समाचार तयार पार्दासम्म उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित केन्द्रीय सदस्यहरू आइन्द्रसुन्दर नेम्वाङ, अग्नि खरेल, अच्युत मैनाली, डा। अजयक्रान्ति शाक्य, अजयकुमार गुप्ता, अफिलाल अखेडा, अमन मास्के, अशोक वेञ्जु, अस्मिता थापा, आनन्द पोखरेल, आरती भण्डारी र आरती लामालगायतले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन्।

मंगलबार, ०६ असोज २०८३, १४ : ०७

प्रतिक्रिया