अपडेट

लगातारको वर्षाले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा आवतजावत अवरुद्ध (सूचीसहित)

विहीबार, ०८ असोज २०८३, १० : ५३

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेसँगै मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न सडकमा पूर्ण तथा आंशिक रूपमा आवागमन प्रभावित भएको जनाएको छ।

कोशी प्रदेशअन्तर्गत सोलुखुम्बुको सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा असोज १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन तथा पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौतेखोलास्थित मध्यपहाडी लोकमार्गमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा १० टनसम्मका मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको सम्भावित जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, नुवाकोटकै पासाङल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र वडा नम्बर ७ कृष्णभीरमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालनमा छ।

मकवानपुरको कान्ति राजमार्गअन्तर्गत भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पहिरोको जोखिमका कारण असोज ९ गते साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा आवागमनमा पूर्ण रोक लगाइएको छ।

यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–२ ढुङग्रेखोलानजिक दमार र घोलीबीच पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ डामसाइटमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

मौसम प्रतिकूल रहेकाले प्रहरीले सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

 

विहीबार, ०८ असोज २०८३, १० : ५३

प्रतिक्रिया