काठमाडौं - गत वर्षको जेन्जी आन्दोलनमा घाइते भएका युवाहरुको अवस्था नाजुक बन्दै गएको भनेर चर्को आवाज उठिरहेको बेला सरकारले उनीहरुको उपचारमा तदारुकता देखाएको छ । उनीहरुको उपचार तथा उपचारपछिको सहजीकरणमा देखिएका समस्या समाधानका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारी र घाइते जेनजीका प्रतिनिधिहरुबीच हप्तामा एकपटक समन्वयात्मक भेट गर्ने सहमति भएको छ ।
सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सभाहलमा हिजो भएको वार्तामा प्रतिनिधि सभा सदस्य प्रकाश पाठक,शम्भुप्रसाद ढकाल,शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि कुशलदेव घिमिरे, घाइते जेनजी नेपालका अध्यक्ष बादल राई, सह–प्रवक्ता रबिन गौतम तथा घाइते जेनजीका प्रतिनिधि सञ्जिव सापकोटा, प्रकाश भट्टराई,रिचा क्षेत्री र आर्यन अधिकारीलगायतको सहभागिता थियो ।
वार्तापछि घाइते जेनजीको उपचार तथा उपचारपछिको फलोअपलाई सहज बनाउन हरेक अस्पतालमा एक–एक जना फोकल पर्सन तोक्ने निर्णय भएको छ । त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित अस्पताललाई पत्राचार गर्नेछ।
त्यस्तै, उपचार खर्चको शोधभर्ना प्रक्रिया सहज बनाउन मन्त्रालयले आवश्यक प्रक्रियागत सूचना जारी गर्ने र सहजीकरणका लागि फोकल पर्सन तोक्ने सहमति भएको छ।
प्रतिक्रिया