जापानीज इन्सेफलाइटिस फैलिदो, १३१ जनामा सङ्क्रमण पुष्टि

शनिबार, १७ असोज २०८३, १५ : ३०

काठमाडौं - सङ्क्रामक रोग जापानीज इन्सेफलाइटिस (जेई) यतिबेला तीब् रुपमा फैलिएको छ । यसबाट हालसम्म १३१ जना सङ्क्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको हो।

जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ। अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ।

कैलालीमा हालसम्म एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन्। सरकारले नियमित खोपअन्तर्गत १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ भने छुटेको भए पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट समेत जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।

शनिबार, १७ असोज २०८३, १५ : ३०

प्रतिक्रिया