काठमाडौं- मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले विद्यार्थी केन्द्रित मनोरञ्जनात्मक कार्यक्रम ‘एमआईटी एक्स्ट्राभ्यागान्जा २०२६’ आयोजना गर्ने भएको छ । कार्यक्रममा लोकप्रिय गायक सविन राई एन्ड द फ्यारोजको प्रत्यक्ष सांगीतिक प्रस्तुतिसहित विद्यार्थीका विभिन्न प्रतिभा र मनोरञ्जनात्मक गतिविधि समेटिने भएका छन् ।
एमआईटीको विद्यार्थी इकाइ स्टुडेन्ट क्वालिटी सर्कल (एसक्यूसी) को आयोजनामा असोज १७ गते शनिबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा कार्यक्रम हुनेछ । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा करिब १ हजार २०० देखि १ हजार ५०० विद्यार्थी तथा युवाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सविन राई एन्ड द फ्यारोजको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ । यस्तै, सिम्फोनिक साम्राज्य ब्यान्डको प्रस्तुतिले पनि कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा एमआईटीका विद्यार्थीहरूले एकल, युगल तथा सामूहिक सांगीतिक प्रस्तुति, नृत्यलगायत विभिन्न प्रतिभा प्रस्तुत गर्नेछन् । यसका साथै खानाका परिकार तथा पेय पदार्थका स्टल, सामग्री बिक्री तथा प्रवर्द्धनात्मक स्टल, प्रायोजकका गतिविधि र दर्शक सहभागितामूलक मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने एसक्यूसीका समन्वयक निशान्त घिमिरेले जानकारी दिए ।
दशैंअघि विशेष उत्सवका रूपमा आयोजना गर्न लागिएको एक्स्ट्राभ्यागान्जाले विद्यार्थीलाई एकै ठाउँमा भेला भएर मनोरञ्जन लिनुका साथै आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । दिनभर विभिन्न गतिविधि सञ्चालन गरी मुख्य सांगीतिक प्रस्तुतिसहित कार्यक्रमको समापन गरिनेछ ।
एसक्यूसीले आयोजना गर्न लागेको यो कार्यक्रम दोस्रो संस्करण हो । यसअघि सन् २०२५ मा आयोजित पहिलो संस्करणमा प्रश्न चिह्न र द पाइन क्यानोपीलगायतका कलाकार तथा ब्यान्डले सांगीतिक प्रस्तुति दिएका थिए ।
गत वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै आयोजना हुन लागेको एमआईटी एक्स्ट्राभ्यागान्जा २०२६ ले विद्यार्थीमा सिर्जनशीलता, उत्साह र सामुदायिक भावना अभिवृद्धि गर्नुका साथै दशैंअघि विशेष मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया