मलेसियामा काम गर्ने नेपाली कामदारको न्यूनतम तलब बढ्दै

शुक्रबार, १६ असोज २०८३, १५ : २४

काठमाडौं– नेपाली कामदारहरुको प्रमुख गन्तब्यमध्येको मलेसिया पनि एक हो । त्यहाँ वर्षौंदेखि विदेशी कामदारहरुले तलब वृद्धिको माग गर्दै आएका थिए । तलब वृद्धि गर्ने चौतर्फी दवाव परेपछि सरकारले  विदेशी कामदारको न्यूनतम मासिक तलब बढाएर २ हजार रिंगिट (करिब ७५ हजार रुपैयाँ) पुर्‍याउने विषयमा छलफल अघि बढाएको छ । यसबाट नेपालीहरु पनि लाभान्वित हुनेछन् ।  ‘मलाय मेल’ अनलाइनका अनुसार आगामी अक्टोबर ९ मा सार्वजनिक हुने सन् २०२७ को बजेटमार्फत न्यूनतम तलब वृद्धि घोषणा हुन सक्ने अपेक्षा गरिएको छ ।

तर, सरकारले नयाँ तलबदर र कार्यान्वयन मिति भने औपचारिक रूपमा तय गरिसकेको छैन । हाल मलेसियामा न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट (करिब ६३ हजार रुपैयाँ) छ । प्रस्तावित दर लागुु भएमा न्यूनतम तलब ३ सय रिंगिट अर्थात् करिब १७.६ प्रतिशतले बढ्नेछ । यसबाट मलेसियामा कार्यरत करिब ४ लाख नेपालीसहित न्यूनतम तलब पाउने विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुन सक्नेछन् ।

मलेसियाका सञ्चारमाध्यम ‘मलाय मेल’ र ‘द स्टार’का अनुसार अर्थमन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याउने विषयमा अन्तिम निर्णय प्रधानमन्त्री अनवर इब्राहिमले बजेट प्रस्तुत गर्दा गर्ने बताएका छन् । तलब वृद्धि गर्दा कामदारको हितसँगै साना तथा मझौला उद्योगको सञ्चालन लागत र आर्थिक क्षमतालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री अनवर इब्राहिमले पनि कम्पनीहरूको नाफा र उत्पादकत्व बढिरहेका बेला कामदार न्यूनतम तलबमै सीमित हुनुपर्ने अवस्थालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले बजेटमार्फत श्रमिकको आम्दानी वृद्धि गर्ने केही पहल घोषणा गर्ने संकेत दिएका छन् । मलेसियाको राष्ट्रिय न्यूनतम तलब नीतिअनुसार विदेशी कामदारले पनि तोकिएको न्यूनतम आधारभूत तलब पाउने व्यवस्था छ । घरेलु कामदार र प्रशिक्षार्थी सम्झौताअन्तर्गतका कामदारले भने यो सुविधा नपाउने जनाएको छ ।

त्यसैले नयाँ न्यूनतम तलबदर लागुु भएमा नेपाली कामदारले पनि त्यसको लाभ पाउनेछन् । मलेसियाको अर्थ मन्त्रालयले सन् २०२७ को बजेटमा श्रमिकको जीवनस्तर सुधार र उचित पारिश्रमिकलाई प्राथमिकतामा राखेको छ । सरकारले सरकारी स्वामित्वका लगानी तथा कम्पनीमा मासिक ३ हजार १ सय रिंगिटलाई जीवनयापनयोग्य तलबको मापदण्डका रूपमा अघि सारेको छ। तर, यो रकमलाई राष्ट्रिय न्यूनतम तलब बनाउने औपचारिक निर्णय भने भएको छैन ।

यसैबीच, मलेसियाको ट्रेड युनियन महासंघले न्यूनतम तलब ३ हजार १ सय रिंगिट पुर्‍याउन माग गर्दै आएको छ । श्रमिक संगठनहरूले जीवनयापन खर्चअनुसार तलब वृद्धि हुनुपर्ने धारणा राखेका छन् । अर्कोतर्फ, रोजगारदाता तथा व्यवसायीहरूले ठूलो तलब वृद्धिले विशेषगरी साना तथा मझौला उद्योगको सञ्चालन खर्च बढाउने र त्यसको असर वस्तु तथा सेवाको मूल्यमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मलेसियाले सन् २०१३ मा ९ सय रिंगिटबाट सुरु गरेको न्यूनतम तलब क्रमशः वृद्धि गर्दै २०२२ मा १ हजार ५ सय र २०२५ मा १ हजार ७ सय रिंगिट पुर्‍याएको थियो । अहिले प्रस्तावित २ हजार रिंगिटको तलबदर कार्यान्वयन भएमा मलेसियामा कार्यरत न्यूनतम तलब पाउने नेपाली श्रमिकको आम्दानी थप बढ्नेछ ।

शुक्रबार, १६ असोज २०८३, १५ : २४

प्रतिक्रिया