काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ । मंसिर १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा उक्त ऐन लागू भएसँगै पशु तथा मासुको स्वास्थ्य परीक्षण गरी छाप लगाउने काम सुरु गरिएको हो ।
पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयनको पहिलो दिन करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु परीक्षण गरी छाप लगाइएको छ ।
उपत्यकाका विभिन्न वधशालामा पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा मासु परीक्षण थालिएको विभागले जनाएको छ । काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखास्थित सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीस्थित न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुका राँगाको मासु पसलमा परीक्षण भइरहेको छ ।
पशु तथा मासुको गुणस्तर सुनिश्चित गर्न वध गर्नुअघि र वध गरिसकेपछि दुवै चरणमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि विभागले विभिन्न स्थानमा पशु चिकित्सकलाई मासु निरीक्षकका रूपमा खटाएको छ ।
विभागका अनुसार बालाजुमा डा। कमलेश्वर भाट, टोखामा डा। गौरीमान श्रेष्ठ र डा। जस्मिन अधिकारी, भक्तपुरमा डा। पुजन सिंह कुँवर तथा टेकुमा डा। उदयलाल खत्रीले मासु निरीक्षणको जिम्मेवारी सम्हालेका छन् ।
परीक्षणका क्रममा मरेका पन्छी तथा अस्वस्थ पशुको मासु हटाएर स्वस्थ मासुमा मात्रै छाप लगाउने गरिएको छ । मासुमा छाप लगाउन प्रयोग हुने मसी खान योग्य (फुड ग्रेड) भएकाले यसले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने विभागले स्पष्ट पारेको छ ।
स्वच्छ र स्वस्थ मासु उपभोक्तासम्म पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले बजारमा बिक्री हुने मासुको गुणस्तर र स्वच्छता सुनिश्चित गर्ने विभागको अपेक्षा छ ।
प्रतिक्रिया