काठमाडौं नेपाली मूलका अस्ट्रेलियन उद्यमी तथा सामाजिक अभियन्ता प्रमेज (पीजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’ प्राप्त गरेका छन्।
व्यवसाय, सार्वजनिक जीवन तथा सामुदायिक सेवामार्फत नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध विस्तारमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो।
डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले व्यवसायसँगै राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्नुका साथै युवा नेपाली–अस्ट्रेलियनलाई सहयोग र प्रोत्साहन गर्ने विभिन्न पहलसमेत अघि बढाएका छन्।
एसीयूले विश्वभर रहेका आफ्ना १ लाख ५५ हजारभन्दा बढी पूर्वविद्यार्थीको उपलब्धि र योगदानको सम्मानस्वरूप प्रदान गर्दै आएको एलुम्नाइ अवार्डअन्तर्गत श्रेष्ठलाई यो सम्मान दिइएको हो। उक्त अवार्डले विश्वव्यापी सम्बन्ध विस्तार, अन्तरसांस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय सहकार्यमा उल्लेखनीय योगदान पुर्याउने पूर्वविद्यार्थीलाई सम्मान गर्छ।
यस वर्षको अवार्ड घोषणा गर्दै एसीयूका उपकुलपति तथा अध्यक्ष प्राध्यापक ज्लात्को स्क्रिब्सले प्रतिभा र दृढ संकल्पलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धतासँग जोड्दा सम्भावनाका नयाँ ढोका खुल्ने बताए।
श्रेष्ठको सामुदायिक योगदानले उनलाई अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्मेन्ट हाउससम्म पुर्याएको थियो। उनलाई २०२४ अगस्ट १५ मा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले भेट गरेकी थिइन्।
सन् २०१९ मा श्रेष्ठ अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिने नेपाली मूलका पहिलो व्यक्ति बनेका थिए। तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको लिबरल पार्टीबाट उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी, श्रेष्ठ एसियाली–अस्ट्रेलियन समुदायका प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन अवार्ड’ कार्यक्रममा पनि छनोट भएका थिए। सन् २०२४ मा सामुदायिक सेवा तथा पैरवी विधामा उनी अन्तिम प्रतिस्पर्धी बनेका थिए। मेलबर्न विश्वविद्यालयको एसियालिंक र जोन्सन पार्टनर्सको पहलमा आयोजना हुने उक्त सम्मान कार्यक्रममा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसमेत सहभागी भएकी थिइन्।
श्रेष्ठले सन् २०१६ मा ‘मिस्टर नेपाल ओसियानिया’ को उपाधिसमेत जितेका थिए। उनले अस्ट्रेलियामा युवा तथा उद्यमीलाई मार्गदर्शन गर्ने, व्यवसायी, सरकारी अधिकारी र सामुदायिक नेतृत्वबीच सहकार्य बढाउने काम गर्दै आएका छन्।
सन् २०२६ मा नेपालमा आएको बाढीका बेला पनि श्रेष्ठ राहत तथा पुनःस्थापनाका लागि स्रोतसाधन जुटाउन र अस्ट्रेलियामा रहेका नेपाली परिवार तथा सहयोगीहरूसँग समन्वय गर्न स्थलगत रूपमा सक्रिय भएका थिए। उनको उक्त योगदानलाई अस्ट्रेलियाली सिनेटर एन्ड्र्यु ब्रागले सेप्टेम्बर ८ मा सिनेटमा सम्बोधन गर्दै उल्लेख गरेका थिए।
त्यस्तै, न्यु साउथ वेल्स राज्यको विधानसभामा सांसद मार्क कौरले सेप्टेम्बर १५ मा नेपालको बाढीसम्बन्धी छलफलका क्रममा श्रेष्ठसहित नेपाली समुदायका अगुवाहरूले गरेको सहयोग र सक्रियताको प्रशंसा गरेका थिए।
सन् २०१५ मा एसीयूबाट वाणिज्य विषयमा स्नातक गरेका श्रेष्ठले विश्वविद्यालयका प्राध्यापक तथा करियर टिमले आफ्नो क्षमता पहिचान गर्न र जीवनको दिशा तय गर्न सहयोग गरेको बताएका छन्।
एसीयूको प्रकाशन ‘इम्प्याक्ट’ सँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले आफैँमाथि विश्वास गर्नुअघि नै उनीहरूले ममाथि विश्वास गरेका थिए।’
प्रतिक्रिया