तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १३ हजार ९०० रुपैयाँ सस्तियो

मंगलबार, ०१ मंसिर २०८३, १० : २९

काठमाडौं- नेपाली बजारमा तिहारपछि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । तिहारका बेला प्रतितोला २ लाख ८३ हजार रुपैयाँ पुगेको सुन सोमबारसम्म आइपुग्दा १३ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबारका लागि भने महासंघले नयाँ मूल्य निर्धारण गर्न बाँकी छ ।

महासंघका अनुसार तिहारअघि अर्थात् कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो । तिहार सकिएपछि कात्तिक २७ गते मूल्य घटेर २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो । त्यसपछि कात्तिक २९ गते २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको सुन सोमबार थप घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी, तिहारपछि चाँदीको मूल्य पनि प्रतितोला २९० रुपैयाँले घटेको छ । तिहारअघि प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ५२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सोमबार १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ कायम भएको छ ।

मंगलबार, ०१ मंसिर २०८३, १० : २९

प्रतिक्रिया