मंसिर ५-६ गते नास-आईटी एक्स्पो, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

मंगलबार, ०१ मंसिर २०८३, १६ : १५

काठमाडौं- नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering Nepal’s Next Economy) भन्ने नारासहित आयोजना हुन लागेको यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत छलफल थप गरिएका छन्।

दुईदिने एक्स्पोले नेपाली प्रविधि कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ। साथै, विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ठूलो सम्भावना रहेको बताए।

‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन्। अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ। नास-आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,’ उनले भने।

यस्तै नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन्।

‘खरिदकर्ता, स्टार्टअप र विद्यार्थी सबैले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। एक्स्पोमार्फत प्रविधि कम्पनीका उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै नयाँ सहकार्य र व्यावसायिक सम्भावनाको खोजी गर्न सकिनेछ,’ उनले भनिन्।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन्।

स्टार्टअप प्याभिलियन र दुई विषयगत छलफल

यस वर्ष युरोपेली संघ (EU) को सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थप गरिएको छ। यसले स्टार्टअपहरूलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल आयोजना हुनेछ। दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विदिन’ शीर्षकमा दुईवटा प्यानल छलफल आयोजना हुनेछन्। ‘सेलेक्ट यूएसए’ सत्रमा नेपाली व्यवसायहरूका लागि अमेरिकी बजारमा उपलब्ध अवसरहरूबारे छलफल गरिनेछ भने ‘बिल्डिङ फ्रम विदिन’ सत्रमा नेपालको आन्तरिक प्रविधि बजारको विकासका विषयमा छलफल हुनेछ। साथै, दुवै दिन सञ्चालन हुने पिच सत्रमार्फत प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा तथा समाधानहरू प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्।
नोभेम्बर २०२५ मा आयोजित पहिलो नास-आईटी एक्स्पोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए। पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ।

यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ। सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई - ए प्रिक्सा कम्पनी रहेका छन्। डिसहोम इन्टरनेट साझेदारका रूपमा जोडिएको छ भने किङ्स कलेज, एआरसी (ARC) र बिजक (Bizak) सहयोगी संस्थाका रूपमा रहेका छन्। 

एक्स्पोकी संयोजक तथा नास-आईटीकी कार्यसमिति सदस्य प्रार्थना साख: ज्युले एक्स्पो सफल बनाउन प्रायोजक, साझेदार तथा प्रदर्शकको सहकार्य महत्वपूर्ण रहेको बताइन्।

‘नास-आईटी एक्स्पोलाई सफल बनाउन हाम्रा प्रायोजक, साझेदार, प्रदर्शक तथा विभिन्न संस्थाबाट प्राप्त सहयोग र सहकार्य महत्वपूर्ण छ। सबैको साथ र सहभागिताले नेपाली प्रविधि उद्योगलाई थप प्रवर्द्धन गर्न र नयाँ सम्भावनाका ढोका खोल्न सहयोग पुग्ने विश्वास लिएका छौँ। यस अवसरमा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै सबैलाई एक्स्पोमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ,’ उनले भनिन्।

नास-आईटीबारे

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो। नेपाली प्रविधि उद्योगको विकास र अन्तर्राष्ट्रिय विस्तारमा योगदान पुर्‍याउँदै नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने संस्थाको लक्ष्य छ।
 

मंगलबार, ०१ मंसिर २०८३, १६ : १५

प्रतिक्रिया