नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार आएको भन्दै कम्पनीको आपत्ति

शुक्रबार, २० कार्तिक २०८३, १४ : ३४

काठमाडौं- नेपाल टेलिकमले कम्पनीको खरिद प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण र अपुष्ट समाचार प्रकाशन तथा प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियाका विषयमा सार्वजनिक भइरहेका समाचारहरू तथ्यमा आधारित नरहेको जनाएको हो । नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति पत्र प्राप्त गरी देशभर दूरसञ्चार सेवा प्रदान गर्दै आएको संस्था हो ।

सवा सय वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेको कम्पनीले प्रचलित ऐन, कानुन तथा सुशासनका मान्यतालाई आत्मसात् गर्दै आएको उल्लेख गरेको छ । कम्पनीको स्थापित प्रतिष्ठा, जनविश्वास र ग्राहकको भरोसा नै मुख्य सम्पत्ति भएकाले संस्थागत प्रतिष्ठा र विश्वसनीयताप्रति आफू सचेत रहेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल टेलिकमले सस्तो, भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यसहित सहरी क्षेत्रदेखि विकट स्थानसम्म सेवा विस्तार गर्दै आएको जनाएको छ । नयाँ प्रविधिको अवलम्बन, सेवाको गुणस्तर अभिवृद्धि, नेपाल सरकारका नीतिगत लक्ष्य प्राप्ति तथा व्यावसायिकतालाई ध्यानमा राखेर कम्पनीले विभिन्न कार्य गर्दै आएको पनि स्पष्ट पारेको छ ।

खरिद प्रक्रियाका सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको मापदण्ड र निर्देशिकाका आधारमा आवश्यक प्रक्रिया अपनाइने कम्पनीको भनाइ छ ।

कम्पनीका खरिद प्रक्रियालगायतका विषयमा आधिकारिक सूचना तथा विवरण आवश्यक परेमा प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखाबाट सहज रूपमा प्राप्त गर्न सकिने भन्दै कम्पनीले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक जानकारी लिन सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

भ्रामक समाचार सम्प्रेषण नगरी कम्पनीको प्रतिष्ठा, विकास र संस्थागत हित अभिवृद्धिमा सकारात्मक सहयोग पुर्‍याउन पनि नेपाल टेलिकमले सञ्चार माध्यमसँग अपेक्षा गरेको छ ।

शुक्रबार, २० कार्तिक २०८३, १४ : ३४

प्रतिक्रिया