काठमाडौं- ताइवानी प्रविधि कम्पनी एएसयूएस (ASUS) ले नेपालमा आफ्नो पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा आफ्नो पहिलो विशेष ब्रान्ड स्टोर उद्घाटन गरेको हो ।
नेपालमा आफ्नो खुद्रा बजार विस्तार गर्ने रणनीतिअन्तर्गत स्थापना गरिएको उक्त स्टोरमा कम्पनीका विभिन्न विद्युतीय उपकरण तथा कम्प्युटर हार्डवेयर उपलब्ध हुनेछन् । स्टोरमा एएसयूएसका भिभोबुक, जेनबुक, प्रोआर्ट, टीयूएफ गेमिङ तथा रिपब्लिक अफ गेमर्स ९आरओजी० सिरिजका ल्यापटपहरू राखिएका छन् ।
नयाँ स्टोरबाट ग्राहकले एएसयूएसका उत्पादन प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न पाउने कम्पनीले जनाएको छ । साथै, कम्पनीले ग्राहकलाई गुणस्तरीय उत्पादन, निरन्तर ग्राहक सेवा, अन्तर्राष्ट्रिय वारेन्टी तथा थप मूल्य अभिवृद्धिसहितको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसलाई कम्पनीले ‘एएसयूएस ४ए ग्यारेन्टी’ नाम दिएको छ ।
यसैबीच, एएसयूएसले नेपाली बजारमा आरओजी र टीयूएफ गेमिङ सिरिजका नयाँ ल्यापटपसमेत सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पुस्ताको डुअल स्क्रिन ओएलईडी गेमिङ ल्यापटप आरओजी जेफिरस डुओ, आरओजी स्ट्रिक्स एससीएआर १८ र टीयूएफ गेमिङ एफ१६ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका ल्यापटपमध्ये आरओजी जेफिरस डुओमा इन्टेल कोर अल्ट्रा ९ ३८६एच प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०९० ल्यापटप जीपीयू रहेको छ । डुअल स्क्रिन प्रविधिसहितको यो ल्यापटप गेमिङ तथा सामग्री सिर्जना गर्ने प्रयोजनका लागि तयार पारिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, आरओजी स्ट्रिक्स एससीएआर १८ मा इन्टेल कोर अल्ट्रा ९ २९०एचएक्स प्लस प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०९० जीपीयू समावेश गरिएको छ । उच्च क्षमताको गेमिङ अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यो ल्यापटप विशेषगरी गेमिङ प्रयोगकर्तालाई लक्षित छ ।
टीयूएफ गेमिङ एफ१६ मा भने इन्टेल कोर आई७–१४६५०एचएक्स प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०५० ल्यापटप जीपीयू उपलब्ध छ । यसले तुलनात्मक रूपमा धेरै प्रयोगकर्तामाझ शक्तिशाली गेमिङ प्रविधिको पहुँच विस्तार गर्ने कम्पनीको अपेक्षा छ ।
एएसयूएस साउथ एसियाका क्षेत्रीय प्रमुख एरिक ओउले नेपाल प्रविधि र नवीनताका दृष्टिले सम्भावना बोकेको महत्त्वपूर्ण बजार भएको बताए । काठमाडौंमा कम्पनीको पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा आउनु नेपालमा आफ्नो व्यावसायिक यात्राको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
उनले नयाँ स्टोरमार्फत ग्राहकलाई कम्पनीका नवीनतम प्रविधि नजिकबाट अनुभव गर्ने, उत्पादनबारे जानकारी लिने र उपयुक्त छनोट गर्ने अवसर मिल्ने बताए । नेपालभर आफ्नो उपस्थिति थप विस्तार गर्दै ग्राहकसँगको सम्बन्ध बलियो बनाउने कम्पनीको योजना रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया