अपडेट

राष्ट्र बैंकले रोक्यो सुनको असर्फी बिक्री, चाँदीका सिक्का भने पाइने

शुक्रबार, २० कार्तिक २०८३, ०८ : ०८

काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुरु गरेको सुनको असर्फी बिक्री स्थगित गरेको छ । सर्वसाधारणको अत्यधिक भीडभाड भएपछि राष्ट्र बैंकले सुनको असर्फी बिक्री रोकेको हो । तर, चाँदीका सिक्का (मेडालियन) बिक्रीलाई भने निरन्तरता दिएको छ ।

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने व्यवस्था मिलाइएको थियो । तर, सुनको असर्फी खरिद गर्न आउने सर्वसाधारणको अत्यधिक चाप बढेपछि व्यवस्थापनमा समस्या देखिएको भन्दै यसको बिक्री स्थगित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सुनको असर्फी बिक्री रोके पनि चाँदीका सिक्का बिक्री भने जारी राखेको छ । यसअघि दुई दिनका लागि तय गरिएको बिक्री कार्यक्रमअन्तर्गत पहिलो दिनमै सुनको असर्फी खरिदकर्ताको भीड बढेपछि बिक्री रोक्नुपरेको हो ।

राष्ट्र बैंककी सूचना अधिकृत प्रतिभा अधिकारीले स्थगित गरिएको सुनको असर्फी बिक्री पुनः कहिलेदेखि सुरु हुन्छ भन्नेबारे यकिन भइनसकेको जानकारी दिइन् । उनका अनुसार सर्वसाधारणको भिडभाड बढेर तत्कालका लागि स्थगित गरिएकाले यसको सहज बिक्री वितरणका लागि राष्ट्र बैंकले तयारी गरिरहेको छ । 

शुक्रबार, २० कार्तिक २०८३, ०८ : ०८

प्रतिक्रिया