अपडेट

सुरक्षा निकायलाई पनि ग्यास बिक्री वितरणको अनुमति दिने तयारी

शुक्रबार, १६ असोज २०८३, १५ : ४३

काठमाडौं- सरकारले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सुरक्षा निकायलाई पनि ग्यास बिक्री वितरणको अनुमति दिने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास वितरणमा असहजता उत्पन्न भएको अवस्थामा सुरक्षा निकायका आउटलेटमार्फत पनि ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिएका हुन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै सचिव तामाङले यस्तो बताएका हुन् ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले यसअघि नै पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन् । ती सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रबाट ग्याससमेत वितरण गर्न सके आपूर्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।

‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्,’ उनले भने, ‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ ।’

सचिव तामाङले सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्न सकिने गरी आवश्यक तयारी भइरहेको बताए । ग्यासको सम्भावित अभाव तथा आपत्कालीन अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे ।

सुरक्षा निकायमार्फत ग्यास वितरणको व्यवस्था गर्न सके आपूर्ति प्रणालीमा थप विकल्प उपलब्ध हुने र संकटका बेला उपभोक्तालाई ग्यास उपलब्ध गराउन सहज हुने मन्त्रालयको अपेक्षा छ ।

शुक्रबार, १६ असोज २०८३, १५ : ४३

प्रतिक्रिया