मध्यपूर्वमा फेरि बढ्यो युद्धको खतरा, अमेरिकाले बढाउँदै छ सैन्य शक्ति

शुक्रबार, १६ असोज २०८३, १४ : १७

कठमाडौं - विश्व समदायले शान्तिको अपेक्षा गरिरहेकोबेला अमेरिकाले इरानमा सैन्य शक्ति बढाएको समाचारले फेरि युद्ध चर्किने खतरा बढेको छ । इरानमाथि फेरि सैन्य आक्रमणको आकलनबीच अमेरिकाले मध्यपूर्वी क्षेत्रमा सैनिक, युद्धपोत, लडाकू विमान र हतियारको तैनाथी बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।  

यही साता मात्रै करिब ९ हजार सैनिकहरू क्यालिफोर्नियाको सान डियागोबाट मध्यपूर्व प्रस्थान गरेको कतारी मिडिया अल जजिराले लेखेको छ।

‘यूएसएस थियोडोर रुजवेल्ट’ लडाकू विमानवाहक युद्धपोत र त्यससँगको युद्ध समूह गत आइतबार क्यालिफोर्नियाबाट मध्यपूर्वतर्फ हिँडेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

यो युद्धपोत नोभेम्बरको मध्यतिर मध्यपूर्व पुग्ने अनुमान छ।

त्यस्तै मकिन आइल्याण्ड युद्धपोतको नौसैनिक समूह मकिन आइल्याण्ड एम्फिबियस रेडी ग्रुप पनि सोमबार मध्यपूर्वतर्फ हिँडेको बताइएको छ।  

समग्रमा करिब  ७ हजार नौसेना र २ हजार मरिन सेना मध्यपूर्वतर्फ हिँडेको अल जजिराले लेखेको छ।

यससँगै क्षेत्रमा अमेरिकी युद्धपोत, लडाकु विमान र सैनिकको संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ।


यी समूहहरू मध्यपूर्व पुगेपछि क्षेत्रमा एकैपटक तीनवटा अमेरिकी विमानवाहक युद्ध समूह र दुईवटा एम्फिबियस ल्यान्डिङ समूह रहनेछन्।

मध्यपूर्वमा करिब ५० हजार अमेरिकी सैनिक यसअघि नै तैनाथ छन्।

शुक्रबार, १६ असोज २०८३, १४ : १७

प्रतिक्रिया