सुनचाँदी व्यवसाय

चाडपर्व नजिकिएसँगै अनलाइनमार्फत् सुनचाँदी कारोबारको बिगबिगी, कसरी जोगिने ?

विहीबार, ०८ असोज २०८३, १३ : ५०

 

काठमाडौं– चाडपर्व नजिकिएसँगै सुनचाँदी तथा गरगहनाको कारोबार बढ्न थालेको छ । यही मौकामा सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमबाट प्रचार प्रसार गर्दै सुनचाँदीका गरगहना बिक्री गर्ने क्रम पनि तीव्र बनेको छ । आकर्षक मूल्य, नयाँ डिजाइन र घरमै सामान उपलब्ध गराउने प्रचार प्रसार गर्दै भइरहेको यस्तो कारोबारले ग्राहकलाई सहजता दिए पनि गुणस्तर, तौल, शुद्धता र वास्तविक मूल्यका विषयमा भने जोखिम बढाएको छ ।

विशेषगरी, सामाजिक सञ्जालमा देखाइएका गहनाको फोटो र वास्तविक रूपमा ग्राहकले प्राप्त गर्ने गहनाबीच फरक पर्ने, गहनाको तौल तथा शुद्धताबारे स्पष्ट जानकारी नदिने र अग्रिम रकम लिएपछि सम्पर्कविहीन हुनेसम्मको गुनासो बढ्न थालेको छ । 

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले अनलाइनबाट सुनचाँदी तथा गरगहना खरिद गर्दा ग्राहकले विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् । 

विश्वकर्मा भन्छन्, “अनलाइनमा देखाइएको गहना र वास्तविक गहनामा फरक हुन सक्छ । ग्राहकले फोटो र मूल्य हेरेर मात्रै कारोबार गर्नु हुँदैन ।” 
विश्वकर्माले अगाडि भने, “सुनको शुद्धता, तौल, ज्याला, जर्ती र अन्य शुल्कबारे स्पष्ट जानकारी लिएर मात्र खरिद गर्नुपर्छ । आधिकारिक व्यवसायीबाट बिलसहित कारोबार गर्दा ग्राहकको हित सुरक्षित हुन्छ ।”

उनका अनुसार, सुनचाँदीको कारोबार विश्वाससँग जोडिएको व्यवसाय भएकाले कारोबार गर्ने व्यवसायीको विश्वसनीयता, पसलको आधिकारिकता, गहनाको शुद्धता र खरिदको बिल अनिवार्य रूपमा हेर्नुपर्छ ।

चाडपर्वको समयमा सुनचाँदी तथा गहनाको माग बढ्ने भएकाले पनि यही अवसरलाई लक्षित गर्दै विभिन्न सामाजिक सञ्जाल पृष्ठ तथा अनलाइन माध्यमबाट प्रचार प्रसार गरेर गहना बिक्री गर्नेको संख्या बढेको अध्यक्ष विश्वकर्माले बताए । व्यवसाय दर्ता, स्थायी पसल, बिल तथा कारोबारको स्पष्ट विवरण भएका विक्रेताबाट मात्रै गरगहना खरिद गर्दा ग्राहक ठगिन सक्ने जोखिम कम हुने उनको भनाइ छ ।

उनका अनुसार, सुनचाँदीको मूल्य बजारअनुसार परिवर्तन हुने भएकाले अत्यन्तै सस्तो मूल्यमा गहना उपलब्ध गराउने दाबीप्रति पनि ग्राहक सचेत हुनुपर्छ । “बजार मूल्यभन्दा अस्वाभाविक रूपमा कम मूल्यमा सुनचाँदीको गहना बिक्री गर्ने विज्ञापन देखिएमा त्यसको विश्वसनीयता जाँच गर्नुपर्छ । ग्राहकले सस्तो मूल्यको लोभमा आफ्नो रकम जोखिममा पार्नु हुँदैन।”, अध्यक्ष विश्वकर्माले भने ।

दर्ता नभएका अनलाइनबाट हुने कारोबारका कारण परम्परागत सुनचाँदी व्यवसायप्रति नै ग्राहकले प्रश्न उठाउने अवस्था आएको उनको गुनासो छ । केही व्यक्तिको गलत कारोबारका कारण लामो समयदेखि व्यवसायमा संलग्न तथा कानुनी रूपमा सञ्चालन भइरहेका व्यवसायीसमेत प्रभावित हुने अवस्था आउनु दुखद् रहेको उनको भनाइ छ ।

उनले ग्राहकलाई सम्भव भएसम्म दर्ता भएका तथा विश्वसनीय सुनचाँदी व्यवसायीबाट गहना खरिद गर्न, खरिदपछि अनिवार्य रूपमा बिल लिन, गहनाको शुद्धता जाँच, तौल यकिन गर्न र अनलाइन विक्रेताको आधिकारिकता परीक्षण गर्न आग्रह गरे ।

चाडपर्वका बेला सुनचाँदी खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले व्यवसायी र उपभोक्ता दुवै जिम्मेवार भएर कारोबार गर्नुपर्ने उनको भनाइ छ । विश्वासलाई आधार बनाएको सुनचाँदी व्यवसायमा पारदर्शिता र विश्वसनीयता कायम राख्नु व्यवसायीको दायित्व भए पनि आफ्नो लगानी सुरक्षित गर्न सचेत हुनु ग्राहकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने विश्वकर्माको सुझाब छ । 
 

विहीबार, ०८ असोज २०८३, १३ : ५०

प्रतिक्रिया