बिपी राजमार्गमा चार दिन राति सवारी रोक, काभ्रे प्रशासनले जारी गर्‍यो यस्तो सूचना

विहीबार, ०८ असोज २०८३, १५ : ०५

काभ्रे– सम्भावित भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि असोज १२ गते बिहान ५ बजेसम्म हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार मौसम पूर्वानुमानमा असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षाको सम्भावना रहेकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

वर्षा तथा बाढीको अवस्था मूल्यांकन गर्दा दिनको समयमा समेत सवारी सञ्चालन रोक्नुपर्ने अवस्था आए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरिएको छ।

निर्णय कार्यान्वयनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत अनुरोध गर्ने निर्णय भएको छ।

त्यसैगरी, नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर सतर्क गराउने तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरिएको छ। यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ।

विपद् उद्धारका लागि नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टरका उद्धार टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गरी उद्धार तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।

प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन तथा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।

विहीबार, ०८ असोज २०८३, १५ : ०५

प्रतिक्रिया