काठमाडौं- सुनचाँदीको आयात तथा बिक्री–वितरणका क्रममा बैंक तथा व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्या र चुनौतीबारे छलफल गर्न बैंक–व्यवसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा बुधबार (असोज १३ गते) महासंघको सचिवालय कार्यालय, बोगेनभिल्लामा “सुनचाँदी आयात तथा बिक्री–वितरणको कार्यान्वयनसम्बन्धी बैंक–व्यवसायी अन्तरक्रिया कार्यक्रम” आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्य, आबद्ध सदस्य संघका अध्यक्ष तथा प्रतिनिधि, एशोसिएट सदस्य, सल्लाहकार तथा विज्ञ र सुन आयात गर्ने वाणिज्य बैंकका सम्बन्धित विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।
महासंघका सचिव केशरबहादुर विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै अन्तरक्रियाको उद्देश्य तथा महत्वबारे जानकारी गराएका थिए।

कार्यक्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था तथा बैंकमार्फत सुन खरिदका क्रममा देखिएका व्यावहारिक कठिनाइबारे आफ्ना धारणा राखेका थिए। बैंकमार्फत सुन खरिदको व्यवस्था अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको, ग्राहकबाट गहना फिर्ता आउने क्रम बढेको तथा भन्सार दर र सुनको मूल्यमा हुने उतार–चढावले बजार कारोबार तथा उपभोगमा असर पारेको विषयसमेत उठाइएको थियो।
त्यसैगरी बैंकका प्रतिनिधिहरूले सुन बिक्री–वितरणसम्बन्धी नियामकीय प्रक्रिया, सुनको मूल्य व्यवस्थापन, आवश्यक कागजात, भुक्तानी तथा अभिलेखीकरणका विषयमा स्पष्ट पारेका थिए। बैंक र व्यवसायीबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग, नीति इकाईका उपनिर्देशक यज्ञ श्रेष्ठले कार्यविधिमा रहेका व्यवस्थाबारे जानकारी दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्या तथा कार्यक्रममा उठाइएका सुझावलाई सम्बन्धित निकायसमक्ष समन्वयात्मक रूपमा पुर्याउन पहल गर्ने बताए।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अन्तरक्रियाबाट प्राप्त सुझाव तथा व्यवसायीहरूले उठाएका समस्यालाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्दै आवश्यक सुधारका लागि महासंघ, बैंक तथा नियामक निकायबीच सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
महासंघका सल्लाहकार वद्री प्रसाद कोइरालाले सुनचाँदीको आयात तथा बिक्री–वितरण प्रणालीलाई समयानुकूल संशोधन गरी सरल, पारदर्शी, व्यवस्थित तथा व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिए। उनले बैंक, व्यवसायी तथा नियामक निकायबीच नियमित संवाद, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
अन्तरक्रियाको निष्कर्षमा पछिल्लो समय सुनचाँदी बजारमा देखिएको सुस्ततालाई सम्बोधन गर्दै बजारलाई चलायमान बनाउन सुन तथा चाँदीमा लाग्दै आएको भन्सार महसुल तथा अन्य करका दरलाई छिमेकी राष्ट्रहरूको व्यवस्थासँग तुलनात्मक रूपमा प्रतिस्पर्धी र व्यवसायमैत्री हुने गरी यथासम्भव न्यून कायम गर्न नेपाल सरकारसमक्ष आवश्यक पहल तथा पैरवी गर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रमको अन्त्यमा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
प्रतिक्रिया