काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत २५ जना पदाधिकारी, विज्ञ तथा कर्मचारीको नामावली र सेवा–सुविधाको विवरण सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सल्लाहकार समूह र स्वकीय सचिवालयमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार तथा विज्ञ समूहमा मन्त्री र राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने व्यक्तिहरू रहेका छन्। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह रहेका छन्। दुवैलाई मन्त्रीसरहको तलब तथा सेवा–सुविधा उपलब्ध गराइएको छ। यद्यपि, व्यञ्जनकारको पद भने अवैतनिक रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, वरिष्ठ चिकित्सक प्रा।डा। जगदिश प्रसाद अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त गरिएको छ। उनलाई पनि मन्त्रीसरहको सेवा–सुविधा उपलब्ध गराइएको छ।
प्रशासनिक तथा प्राविधिक सल्लाहकारतर्फ सुदिप ढकाललाई नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्रलाई सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको जिम्मेवारी दिइएको छ। उनीहरू दुवैले राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने विवरणमा उल्लेख छ।
सल्लाहकार समूहबाहेक प्रधानमन्त्रीको स्वकीय सचिवालयमा स्वकीय सचिव, निजी सचिव, प्रेस संयोजक, स्वकीय सहायक, भान्से तथा सवारी चालकसहितका कर्मचारी कार्यरत छन्।
प्रधानमन्त्री कार्यालयले सल्लाहकार समूह तथा सचिवालयको संरचना, पदाधिकारीको नामावली र उनीहरूले प्राप्त गर्ने सेवा–सुविधाको विवरण सार्वजनिक गर्दै पारदर्शी सुशासनको अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ।
सार्वजनिक विवरणले प्रधानमन्त्रीको सचिवालयमा कार्यरत पदाधिकारीको जिम्मेवारी र उनीहरूले प्राप्त गर्ने सुविधाबारे जानकारी उपलब्ध गराएको छ।




प्रतिक्रिया