काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । पाँच दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई आकर्षक रूपमा सजाइएको छ भने आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम रहेको छ । असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देश तथा विदेशबाट ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन् भने केही आउने क्रम जारी रहेको छ । प्रतिनिधिहरूका लागि राजधानीका विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
महाधिवेशनको उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा पार्टीका राजनीतिक तथा नीतिगत दस्तावेजमाथि छलफल हुनेछ । सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
कांग्रेसको कार्यतालिकाअनुसार असोज १९ गते उम्मेदवारी मनोनयन हुनेछ भने असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ । मतदानका लागि खुलामञ्चसहित राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठानमा व्यवस्था मिलाउने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी भारत, चीन, अमेरिका लगायतका विभिन्न मुलुकका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ । सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् भने अन्य देशका राजनीतिक दलबाट प्रतिनिधि तथा शुभकामना सन्देश प्राप्त भएको कांग्रेसले जनाएको छ ।
महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसहित बन्दसत्र सञ्चालन गर्न तीनवटा हल तयार पारिएका छन् । सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि स्वास्थ्य सहायता कक्ष तथा प्रतिनिधिहरूको खानाका लागि भृकुटीमण्डपमा भोजन व्यवस्थापन गरिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिएका छन् ।
यस महाधिवेशनबाट कांग्रेसले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक तथा नीतिगत दिशा तय गर्नेछ । महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ ।
प्रतिक्रिया