बिड्सबजारको नेपालकै प्रि–ओन्ड लिलामी बजारका रूपमा औपचारिक शुभारम्भ

मंगलबार, २० असोज २०८३, १५ : १७

काठमाडौं- दर्शिका ई–कमर्स प्रालिको ब्रान्ड बिड्सबजारले नेपालकै प्रि–ओन्ड अर्थात् पुनः बिक्री हुने वस्तुहरूको लिलामी बजारका रूपमा औपचारिक शुभारम्भ गरेको छ।

नेपालमा पुनः बिक्री हुने वस्तुहरूको खरिद–बिक्रीलाई व्यवस्थित, पारदर्शी र सहज बनाउने उद्देश्यले बिड्सबजारले डिजिटल बजार सञ्चालनमा ल्याएको हो। काठमाडौंस्थित डीस बुटिक होटलमा आयोजित शुभारम्भ कार्यक्रममा अतिथि, व्यावसायिक साझेदार, सञ्चारकर्मी, शुभेच्छुक तथा बिड्सबजार परिवारको सहभागिता रहेको थियो।

बिड्सबजारले प्रि–ओन्ड वस्तुको खरिद–बिक्रीलाई अनौपचारिक मोलमोलाइ वा व्यक्तिगत सम्पर्कमा मात्र सीमित नराखी स्पष्ट प्रक्रिया, विभिन्न खरिद विकल्प र व्यवस्थित मूल्य निर्धारणको माध्यमबाट कारोबार गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

बिड्सबजारमा खरिदकर्ताले प्रि–ओन्ड उत्पादन, पुनः बिक्रीका वस्तु, थ्रिफ्ट सामग्री, संग्रहणीय वस्तु लगायत विभिन्न सामग्री एउटै डिजिटल बजारमा खोज्न सक्नेछन्। योग्य वस्तुमा खरिदकर्ताले तोकिएको मूल्यमा सिधै खरिद गर्न, तोकिएको समय र नियमभित्र आफ्नो मूल्य प्रस्ताव गर्न वा सक्रिय लिलामीमा सहभागी भएर मूल्य बढाबढ गर्न सक्नेछन्।

विक्रेताका लागि भने आफ्ना वस्तु सम्भावित खरिदकर्तासम्म पुर्‍याउने, उपयुक्त बिक्री विधि छनोट गर्ने तथा व्यवस्थित रूपमा मूल्य निर्धारण र बिक्री प्रक्रिया अघि बढाउने अवसर उपलब्ध गराइएको छ।

बिड्सबजारको प्रमुख विशेषतामध्ये अनलाइन बढाबढ एक भए पनि यो केवल लिलामीमा सीमित नरहेको कम्पनीले जनाएको छ। प्लेटफर्ममा नियन्त्रित लिलामी, व्यवस्थित मोलमोलाइ र तत्काल खरिदजस्ता विभिन्न खरिद–बिक्री विधि समेटिएका छन्।

निश्चित बढाबढ अवधि, स्पष्ट नियम र व्यवस्थित प्रक्रियामार्फत खरिदकर्ता तथा विक्रेताबीचको कारोबारलाई थप संरचित बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। योग्य व्यवसाय तथा विक्रेताले पुनः बिक्री, अतिरिक्त मौज्दात तथा मौज्दात खाली गर्ने प्रयोजनका सामग्री बिक्रीका लागि पनि बिड्सबजार प्रयोग गर्न सक्नेछन्। प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गर्न चाहने नयाँ वस्तुहरू समेत प्लेटफर्ममा समावेश हुन सक्ने जनाइएको छ।

Launch

बिड्सबजारले विश्वास र सुरक्षालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। प्रयोगकर्ता प्रमाणीकरण, खाता व्यवस्थापन, विक्रेता मूल्याङ्कन तथा जवाफदेहिता, गतिविधि अनुगमन, गुनासो तथा सहायता प्रणालीमार्फत सुरक्षित र जिम्मेवार डिजिटल बजार निर्माण गर्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।

त्यसैगरी, वस्तुको स्पष्ट विवरण, परिभाषित प्रक्रिया तथा बजारसम्बन्धी नियममार्फत खरिदकर्ता र विक्रेतालाई कारोबारको प्रक्रियाबारे जानकारी उपलब्ध गराइनेछ।

बिड्सबजार आफैंले सूचीबद्ध वस्तु खरिद वा बिक्री नगर्ने र प्रविधि सहजकर्ताका रूपमा खरिदकर्ता तथा विक्रेतालाई जोड्ने आवश्यक डिजिटल उपकरण, प्रक्रिया तथा बजार संरचना उपलब्ध गराउने कम्पनीले स्पष्ट पारेको छ।

विक्रेताको सहभागिता र बिक्री गतिविधिलाई व्यवस्थित गर्न बिड्सबजारले विक्रेता अंक तथा तह प्रणालीसमेत ल्याएको छ। सफल बिक्रीसँगै विक्रेताले अंक प्राप्त गर्ने र आफ्नो बिक्री गतिविधिका आधारमा विभिन्न तहमा अगाडि बढ्ने व्यवस्था गरिएको छ। सम्बन्धित तहअनुसार विक्रेताले विभिन्न प्लेटफर्म सुविधाका साथै थप अवसर प्राप्त गर्ने जनाइएको छ।

बिड्सबजारले नेपालमा रहेको प्रि–ओन्ड तथा दोस्रो बजारलाई व्यवस्थित डिजिटल संरचनासँग जोड्ने लक्ष्य लिएको छ। व्यक्तिगत विक्रेता, घरपरिवार, पुनः बिक्री व्यवसायी, साना व्यवसाय, संग्रहकर्ता तथा सेकेन्ड–ह्यान्ड सामग्री खरिदकर्तालाई एउटै डिजिटल बजारमा जोड्दै खरिद–बिक्रीलाई सहज, पारदर्शी, लचिलो र विश्वासयोग्य बनाउने कम्पनीको उद्देश्य छ।

खरिदकर्ताका लागि विविधता, छनोट, व्यवस्थित मूल्य निर्धारण तथा खरिदका विभिन्न विकल्प उपलब्ध गराउने र विक्रेताका लागि लचिलो बिक्री विधि, सम्भावित खरिदकर्तासम्म पहुँच तथा बिक्री प्रक्रियामा थप नियन्त्रण प्रदान गर्ने बिड्सबजारले जनाएको छ।

कम्पनीका अनुसार बिड्सबजारले वास्तविक बजार माग र खरिदकर्ताको सहभागितालाई वस्तुको मूल्य निर्धारण प्रक्रियासँग जोड्ने वातावरणसमेत निर्माण गर्नेछ।

औपचारिक शुभारम्भ कार्यक्रममा स्वागत तथा अभिवादन, सञ्चालक तथा विशिष्ट अतिथिको परिचय, राष्ट्रिय गान, पानस प्रज्वलन तथा मंगल धुनलगायतका कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बिड्सबजारको अवधारणा, उद्देश्य तथा बजार संरचनाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा बिड्सबजारका अध्यक्षले कम्पनी तथा प्लेटफर्मको उद्देश्य र आगामी योजनाबारे मन्तव्य दिएका थिए। उपस्थित अतिथिप्रति सम्मान तथा आभार व्यक्त गर्दै मायाको चिनोसमेत प्रदान गरिएको थियो।

त्यसपछि बिड्सबजारको बजार अवधारणा, बढाबढ प्रणाली तथा खरिदकर्ता र विक्रेताका अवसरबारे छलफल गर्न प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो। औपचारिक कार्यक्रमपछि अतिथि, साझेदार तथा शुभेच्छुकबीच चियापान तथा आपसी भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।

मंगलबार, २० असोज २०८३, १५ : १७

प्रतिक्रिया