काठमाडौं- नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतमा निर्मित एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘हेक्टर टोमहक’ (Hector Tomahawk EV) नेपाल भित्र्याएको छ।
कम्पनीले यसअघि नै टोमहक ईभीको बुकिङ खुला गरिसकेको छ भने यसको आधिकारिक मूल्य असोज २४ गते शनिबार एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ।
पावर, ब्याट्री र रेन्ज:
एमजी हेक्टर टोमहकमा १५० किलोवाट (kW) को शक्तिशाली इलेक्ट्रिक मोटर र ६९.२ किलोवाट आवर (kWh) को ब्याट्री प्याक राखिएको छ, जसले ३१० न्युटन मिटर (Nm) टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो एसयूभीले एकपटकको पूर्ण चार्जमा ५१७ किलोमिटरसम्मको रेन्ज दिन्छ।
यसमा ९० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसको मद्दतले ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न ३५ मिनेट मात्र लाग्ने दाबी गरिएको छ।
आकर्षक डिजाइन र इन्टेरियर:
४,७४५ एमएम लम्बाइ, १,८५० एमएम चौडाइ, २,८१० एमएम ह्विलबेस र २३० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीको बाहिरी डिजाइन बक्सी शैलीको छ। अगाडि स्लिम लाइट, इलुमिनेटेड एमजी लोगो र १८ इन्चका ड्युअल टोन अलोय ह्विलले गाडीलाई थप आकर्षक बनाएका छन्।
इन्टेरियरतर्फ १५.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले र १० वटा स्पिकरयुक्त इन्फिनिटी साउन्ड सिस्टम दिइएको छ। साथै अगाडिका दुवै सिटमा भेन्टिलेसन सुविधासमेत उपलब्ध छ।
सुरक्षा र प्रविधि:
सुरक्षालाई ध्यानमा राख्दै गाडीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर तथा टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS) समावेश गरिएका छन्। यसको टप भेरियन्टमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्टसहितको लेभल–२ एडास (Level-2 ADAS) प्रविधिसमेत रहेको छ।
शनिबार आयोजना हुने कार्यक्रममार्फत गाडीको मूल्य र भेरियन्टअनुसारका थप विशेषताहरू घोषणा हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया