म्याक्ससको १६ सिटे विद्युतीय मिनीबस नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार

आइतबार, २५ असोज २०८३, १६ : ४९

काठमाडौं- हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनीबस ‘म्याक्सस ईडेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अक्टोबर ११, २०२६ मा काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यस मिनीबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।

विशेषगरी होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य सेवा र व्यावसायिक यातायात क्षेत्रलाई लक्षित गरी ल्याइएको यो विद्युतीय मिनीबस आधुनिक बनावट, आरामदायी इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र व्यावहारिक उपयोगिताका विशेषताले सुसज्जित रहेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि म्याक्सस ईटेरोन ९ विद्युतीय पिकअप पनि नेपाली बजारमा ल्याएको थियो।

म्याक्सस ईडेलिभर ५ को सार्वजनिक हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीको समेत उपस्थिति थियो।

६४ किलोवाट आवरको ब्याट्री, ४०० किलोमिटरसम्म रेन्ज

म्याक्सस ईडेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। कम्पनीको विवरणअनुसार यसले एनईडीसी परीक्षण मापदण्डमा ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसमा अधिकतम १२० किलोवाट पावर र २४० एनएम टर्क उत्पादन गर्ने विद्युतीय मोटर रहेको छ।

मिनीबसमा ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यस प्रविधिमार्फत ब्याट्रीको चार्ज २० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

आधुनिक सुविधा र उन्नत सुरक्षा प्रविधि

मिनीबसमा १२।३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छ। यसले ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समर्थन गर्छ। चार तहमा समायोजन गर्न मिल्ने स्टेरिङ, आधुनिक ककपिट तथा स्टेरिङमै उपलब्ध नियन्त्रण सुविधाले चालकको सहजतालाई ध्यानमा राखेको कम्पनीले जनाएको छ।

सुरक्षाका लागि यसमा ३६० डिग्री अराउन्ड(भ्यु क्यामेरा, स्वचालित आपत्कालीन ब्रेकिङ, अगाडिको सम्भावित ठक्करबारे चेतावनी, अनुकूलन क्रुज कन्ट्रोल, लेनबाट बाहिरिँदा चेतावनी दिने प्रणाली, लेनमा रहन सहयोग गर्ने प्रविधि तथा चालकको अवस्थाको निगरानी गर्ने प्रणाली समावेश छन्।

यसका अतिरिक्त चालक र अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर निगरानी प्रणाली पनि उपलब्ध छन्। २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र अलोय ह्विलले यसको उपयोगितालाई थप बढाएको कम्पनीको भनाइ छ।

ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी

कम्पनीको विवरणअनुसार म्याक्सस ईडेलिभर ५ को ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध छ। यसले व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीसाधन अपनाउन चाहने व्यवसायीलाई थप विश्वास दिलाउने कम्पनीको अपेक्षा छ।

चीनमा एसएआईसी समूहअन्तर्गत उत्पादन हुने म्याक्ससका सवारीसाधन गुणस्तर र विश्वसनीयताका हिसाबले प्रतिस्पर्धी रहेको कम्पनीले दाबी गरेको छ। नेपाली बजारमा उपलब्ध सुविधाका तुलनामा यसको मूल्य प्रतिस्पर्धी रहेको पनि कम्पनीको भनाइ छ।

म्याक्ससको शोरुम काठमाडौंको हात्तीसारमा रहेको छ। नयाँ मिनीबस सार्वजनिक गरेसँगै हिमालय अर्गनाइजेसनले आधुनिक सवारीसाधनको आयात तथा बिक्री विस्तार गर्नुका साथै नेपालभर बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

नेपालमा वातावरणमैत्री सार्वजनिक यातायातको आवश्यकता बढिरहेका बेला १६ सिट क्षमताको यस्तो विद्युतीय मिनीबसले होटल, रिसोर्ट, पर्यटन व्यवसाय तथा यात्रुवाहक सेवामा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। आधुनिक सुविधा, सुरक्षा प्रविधि र विद्युतीय सञ्चालनको संयोजनले व्यावसायिक यातायातलाई थप सुविधाजनक तथा वातावरणमैत्री बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

आइतबार, २५ असोज २०८३, १६ : ४९

प्रतिक्रिया