जिल्ला समन्वय समितिले दुई स्थानलाई पर्यटकीय तथा घरवास (होमस्टे) क्षेत्रका रुपमा विकसित गर्न प्रदेश नं ३ स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सिफारिश गरेको छ ।
मन्त्रालयबाट प्रस्ताव माग भएअनुसार जिल्लाको बनेपा नगरपालिका–१२ बासुकी थुम्कालाई पर्यटकीयस्थलका रुपमा विकसित गर्न तथा पनौती नगरपालिका–१२ मगरगाउँलाई पर्यटकीय घरवासका रूपमा विकसित गर्न सिफारिश गरिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले उपत्यकाबाहेकका १० जिल्लामा ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत नमूना पर्यटकीयस्थलका रुपमा विकसित गर्न प्रस्ताव माग गरेको हो ।
बासुकी थुम्कामा तीन ऐतिहासिक गुफा रहेका र उत्तरीतर्फका १४ हिमाल सजिलै नियाल्न सकिने जिसस प्रमुख केसीले जानकारी दिनुभयो । उहाँले पनौतीस्थित मगरगाउँ सुन्दर, मनोरम बस्ती भएकाले आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षाका साथ त्यसलाई घरवासका रूपमा विकसित गर्न सिफारिश गरिएको बताउनुभयो ।
जिससले यही असोज १० गते अन्तरराष्ट्रिय पर्यटन दिवस पनि बासुकी थुम्काको भ्रमण गरी मनाउने कार्यक्रम बनाएको छ । जिल्लामा पर्यटकीयस्थलका रुपमा धुलिखेल, नगरकोट, पनौती, नमोबुद्ध, तेमाल परिचित छन् । नयाँ पर्यटकीय गन्तव्यस्थल निर्धारण गर्दा प्रदेश नं ३ का १७ स्थल सूचीकृत भएका थिए ।
प्रतिक्रिया