उत्तरी नाम्खा गाउँपालिकामा सोमबारदेखि याल्वाङ लिमी महोत्सव सुरु भएको छ । गत वर्षदेखि नाम्खा गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन याल्वाङमा पर्यटन महोत्सव आयोजना गर्न थालिएको हो । पर्यटकीय क्षेत्रको सम्भावना बोकेको हुम्लाको नाम्खा गाउँपालिकाले दोस्रो संस्करणको रूपमा सोमबारदेखि याल्वाङ लिमी महोत्सव सुरु गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।
महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटकलाई नाम्खा गाउँपालिकामा रहेको पाँचवटा वडाको स्थानीय र पुराना मौलिक वेशभूषा सांस्कृतिक चिनाउने रहेको अध्यक्ष लामाको भनाइ छ । स्थानीय जातका लोपोन्मुख जडीबुुटीसहित धार्मिक प्रचारप्रसार र उच्च हिमाली क्षेत्रमा पाइने पशुवस्तुको प्रदर्शनी महोत्सवमा गरिएको गाउँपालिकाले जनाएको छ ।
खाना प्रदर्शन
याल्वाङ महोत्सवमा मुख्य आकर्षकको रूपमा स्थानीय अर्गानिक अन्नपातका परिकार प्रदर्शनीमा राखिएको छ । विशेष गरी मिठे र तिते फापरको रोटी, ढिँडो, चिनोमा चामलको भात, खीर चौरी घ्यु, नौनी, छुर्पी, नाफलको रोटी, उवा, सातु, सिस्नुको थक्पालगायत खाना प्रदर्शनीमा राखिएको छ ।
गाउँपालिका ऋणमा
गत वर्ष लिमी व्यापार महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र सांसदहरूले हेलिकप्टर यात्रा गरेको रकम गाउँपालिकाकै नाममा थोपरिएको छ । मुख्य मन्त्रीदेखि मन्त्रीहरूले ठूलो आश्वासन दिए पनि १५ लाख व्ययभार नाम्खा गाउँपालिकाको टाउकोमा थोपरिएको छ । गत वर्षको महोत्सव धेरै खर्चिलो भएपछि यसपटक स्थानीय पाहुनालाई मात्रै निमन्त्रणा गरिएको गाउँपालिका श्रोतले जनाएको छ ।
प्रतिक्रिया