चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै मङ्गलराज

४ बर्ष अगाडि

गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए । 

तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए । उनका बाबु काले कामीले गाउँपालिकामा सहयोगको लागि अपिल गरे तर पहिला गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिले अन्तिममा आएर सहयोग गर्न नसकिने जानकारी दिएपछि उनमा निरासा छायो । छोराको प्रतिभा हुँदा पनि पैसाको कारणले छोराले खेल्न नपाउने भयो भनेर उनी चिन्तित भए । 

यो खबर गोठीचौर गाउँपालिकाका समाजसेवी गणेशबहादुर बुढासम्म पुग्यो । खबर पाएपछि समाजसेवी बुढाले जुम्ला चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह काठायतसँग सल्लाह गरी सबैसँग एक÷दुई हजार गर्दै सहयोग सङ्कलन गरेर मङ्गललाई चाहिने रु एक लाख सहयोग रकम सङ्कलन गरी खेलाडी मङ्गलराजलाई हस्तान्तरण गरे । आफू जाने रकम पाएपछि १४ वर्षे मङ्गलराजले सबैलाई धन्यवाद दिएका छन् । मङ्गलराजका बुबाको पनि सपना पूरा भएको छ ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सरकारले गर्ने दायित्व एक समाजसेवीले पूरा गरेको बताए । उनले भने, “एउटा गाउँपालिकाको इच्छा पूरा भएको छ, एउटा जिल्लाको इच्छा पूरा भएको छ भने सिङ्गो देशको इच्छा पूरा भएको छ । अबका दिनमा यस्ता खेललाई प्रोत्साहन र सहयोग गर्न अक्षयकोषको स्थापना गर्नुपर्छ ।”

सहयोग अभियानकर्मी दनबहादुर बुढाले गाउँघरमा यस्तै समस्याको समाधान होस् भनी देश सङ्घीयता ल्याएको र स्थानीय सरकारको स्थापना भएको बताए । सरकारले आफूले गर्नुपर्ने दायित्व भुलेको उहाँको भनाइ छ । खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले योजना बनाउन नसकेको उनले बताए ।

सहयोग रकम सङ्कलनमा सहयोगी बनेका चन्ननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले खेल क्षेत्रलाई स्थानीय सरकारको प्रमुख प्रथामिकतामा राख्नुपर्ने र यसका लागि जनप्रतिनिधिलाई पनि खेल क्षेत्रको महत्वको जानकारी गराउनुपर्ने बताए। 

मङ्गलराज आगामी कात्तिक ६ गतेदेखि हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा ३४ किलो अन्तर्गत खेलमा सहभागी हुनेछन् भने उक्त प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया