प्रथम छेडेदह महोत्सव शुरु

आइतबार, २६ असोज २०७६, १४ : ४०

जिल्लामा प्रथम छेडेदह पर्यटन  महोत्सव आजदेखि शुरु भएको छ । विजयादशमी तथा शुभ दीपावलीको अवसरमा स्थानीयस्तरमा उत्पादित चिजवस्तुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले जयमालिका यातायात प्रालिले सो महोत्सव आयोजना गरेको हो । 

पुराना लोपोन्मुख लोकसंस्कृतिक कला साहित्यको जगेर्ना गर्ने र जिल्लाका  प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रमुख गन्तव्यस्थल बनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको उक्त संस्थाका अध्यक्ष प्रेमनाथ योगीले बताए ।

महोत्सव सञ्चालनका लागि करिब रू   २८ लाख ३० हजार  खर्च हुने र रू २९ लाख ८३ हजार बराबरको आम्दानी हुने अनुमान गरिएको छ ।  जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालको संरक्षणमा राज्यको आँखा नपरेका कारण पनि महोत्सव आयोजना गरिएको उक्त प्रालिका सचिव देवेन्द्र नाथले उल्लेख  गरे। 

करीब ७९ स्टल रहेको सो महोत्सवमा स्थानीयवासीले निर्माण तथा उत्पादन गरेका वस्तु निःशुल्करुपमा राख्न पाउने व्यवस्था गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई  रु ४० र अरुलाई रु ५० शुल्क तोकिएको छ भने महोत्सव अवधिभर यात्रुका लागि ७५ प्रतिशत भाडा छुट गरिने जनाइएको छ ।  

कृषि, पर्यटन, कला र संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तव्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त महोत्सव कात्तिक २ गते सम्पन्न हुने भएको छ । महोत्सवमा भुवा, चाली, माँगल, हुड्केउली, गाथालगायत झाँकी प्रस्तुत गरिने भएको छन् । 

आइतबार, २६ असोज २०७६, १४ : ४०

प्रतिक्रिया