एमाले–माओवादीवीच यसरी  मिल्ने भयो भागबण्डा, एमाले नेताले गरे यस्तो खुलासा

६ बर्ष अगाडि

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्नेगरि सहमति भएको बताएका छन् । 
सोमबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले  आजविहान भएको ओली–प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् । 
उनले भने,‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ।’ रावलले सोमबार भएको प्रमुख नेताद्धय ओली र प्रचण्डवीचको निर्णायक वार्तामा पनि निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेपछि वाम गठबन्धनकै संयुक्त रुपमा सरकार बनाउनेबारे सहमति भएको सुनाए । 
रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे आजको भेटवार्तामा छलफल भएको विश्वास दिलाए । उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । रावलले भने,‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त ?’ 
कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने र दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाई थियो । एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले भने,‘एकताले ठोस रुप लिनेवित्तिकै कार्यदलमार्फत सबै कुरा बाहिर ल्याउँछौं, सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एक अर्काका संवेदनशिलतालाई बुझेर अघि बढ्छौं, एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन ।’ 
उनले एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भैसकेको सुनाए । उनले भने,‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ, एकताको विभिन्न चरणहरु त पार भैसके नि ।’ 
त्यस्तै रावलले राष्ट्रपति, उपराष्ट्रपति लगायत महत्वपूर्ण पदमा सहमतिकै आधारमा कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे निर्णय लिईनेपनि जानकारी दिए । उनले थपे,‘यो भागबण्डा गर्ने कुरा होईन, नेताहरुलाई जिम्मेवारी दिने कुरा हो।’
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भएकोले उसले गरेका कतिपय निर्णयहरु आफूहरुले पूनरावलोकन गर्ने पनि उनको भनाई थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया