पर्यटन प्रवद्र्धनका लागि व्यास ऋषि तीर्थस्थल संरचना निर्माण

सोमबार, ११ कार्तिक २०७६, ११ : ४८

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका वडा नं ६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ । 

सो स्थानमा रु ३० लाखका संरचना निर्माण गरिएको छ भने १०८ धाराका साथै सडक निर्माण गर्न बाँकी रहेको छ । सदरमुकाम दुनैबाट छ घण्टा पैदल दूरीमा रहेको उक्त तीर्थस्थलमा जाजरकोट र रुकुमबाट समेत तीर्थयात्रुहरु जाने गरेका छन् । 

व्यास ऋषि तीर्थस्थलमा रु १० लाखमा मन्दिर र रु २० लाखमा बास बस्नका लागि घर निर्माण गरिएको हो । सङ्घीय र कर्णाली प्रदेश सरकारले संयुक्तरूपमा मन्दिर र बासस्थल निर्माणका लागि सहयोग गरेसँगै यहाँ आउन र जान सहज भएको छ । मन्दिर र आवास निर्माणले तीर्थालुलाई बास र पूजाआजाका लागि सहज भएको  काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले जानकारी दिए  । 

निर्माण गरिएका ती संरचनाहरुको हेलिकोप्टरमा तीर्थस्थल पुगेर अनुगमन गरेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संरचना राम्रो भएको प्रतिक्रिया दिए। परापूर्व कालदेखि नै हिन्दूहरुको पवित्र धार्मिक तथा तीर्थस्थलका रूपमा परिचित हुँदै आएको व्यास ऋषि तीर्थस्थलमा एक कोठाको मन्दिर निर्माण गरिएको छ भने भक्तजनलाई बास बस्नलाई सहज होस् भनी पाँच कोठाको आवास निर्माण गरिएको छ । यो व्यास ऋषि तीर्थस्थल डोल्पाको ऐतिहासिक महत्व बोकेको तीर्थस्थल हो । 

सोमबार, ११ कार्तिक २०७६, ११ : ४८

प्रतिक्रिया