भारतीय श्रमिक राख्न थाले कम्पनीले

४ बर्ष अगाडि

नेपाली श्रमिकहरु कटौती गरी नेपाली कम्पनीहरुले भारतीय श्रमिकहरु नियुक्त गर्न थालेका छन् । नेपाली श्रमिकलाई न्यूनतम पारिश्रमिकलगायत विभिन्न सेवासुविधा दिनुपर्ने भएपछि नेपाली कम्पनीहरुले नेपाली श्रमिक कटौती गर्न थालेको संयुक्त ट्रेड युनियन अध्यक्ष विनोद श्रेष्ठले बताए । नेपाली श्रमिक कटौती गरी भारती श्रमिक राख्ने  कम्पनीहरुले प्रपञ्च छ, उनले भने । श्रमिक कटौती गर्ने कम्पनीहरुले भारतीय श्रमिक नियुक्त गरेको देखिएको श्रम अदालतका सूचना अधिकारी दिनेश पौडेलले बताए । श्रमिक कटौतीको उजुरी आउने अधिकांश कम्पनीहरुले भारतीय श्रमिक नियुक्त गरेको गुनासो आउँछ ।

कम्पनी घाटामा गएको तथा आवश्यकताभन्दा बढी श्रमिक भएको भन्दै कम्पनीहरुले एकैपटक २ सय श्रमिकसम्म कटौती गरेका छन् । श्रमिक कटौती गर्नेहरुमा उत्पादन कम्पनी,बैंक,बिमा र टेक्सटायललगायतका कम्पनीहरु छन् ।सरकारले श्रम ऐन २०७४ लागू गरेपछि कम्पनीहरुमा त्रास बढेको श्रम तथा व्यवसायजन्य विभागका प्रवक्ता सूर्यप्रसाद उपाध्यायले बताए । अहिले श्रम ऐनले श्रमिकका लागि धेरै राम्रो व्यवस्था गरेको छ । फलस्वरुप श्रमिक कटौती भएको हुन् सक्छ,उनले भने ।

श्रम अदालतमा श्रमिक कटौतीका मुदा बढ्न थालेका छन् ।एक वर्षमा अदालतमा ४ सयभन्दा बढी श्रमिक कटौतीका १२ वटा उजुरी परेका छन् । कटौती भएर पनि उजुरी नपर्ने संख्या पनि उतिकै हुन सक्ने अदालतको अनुमान छ । 

सरकारले समाजिक सुरक्षा कोष योजना सञ्चलन गरेपछि कम्पनीहरुले श्रमिक कटौती गरेको संयुक्त ट्रेड युनियनका अध्यक्ष विनोद श्रेष्ठले बताए । कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने,कर्मचारीका लागी कोषमा ठूलो रकम जम्मा गर्नुपर्नेलगायतका कारण पनि कम्पनीहरुले श्रमिक कटौती गरेका हुन् ,उनले भने,।

हाल नेपालमा भारतीय र चिनियाँ श्रमिकको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि नेपालीहरु विदेशमा जान थालेपछि नेपालमा भारतीय र चिनियाँ श्रमिकको माग बढ्न थनलेको  हो । भारतीय श्रमिकलाई श्रम स्वीकृत अनिवार्य भएका कारण यस्ता श्रमिकको तथ्यांक नभएको श्रम विभागले बताएको छ । 

श्रम विभागअनुसार चालू आवको साउनमा २ सय ४१,भदौंमा ३ सय ४२ र असोजमा १ सय ५८ जना गैरनेपाली श्रमिकले श्रम विभागबाट श्रम स्वीकृति लिएका छन् । विगत एक वर्षको अवधिमा १ हजार २४ चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका छन् । त्यस्तै,युके १ सय ९२,अमेरिका ८९,भारत७४,फ्रान्स५०,इटाली ४५,जापान ३६,कोरिया ५१,फिलिपिन्स ३०,थाइल्यान्ड १४,स्विडेन १३,नाइजेरिया १७,मलेसिया १०,जर्मनी ३१,फिनल्यान्ड १०,क्यान्डा १६,भुटान १३,बेल्जियम ११,बंगलादेश १६,अस्ट्रेलियाका ४० नागरिकले नेपालमा नेपाली श्रम स्वीकृति लिएका छन् । 

नेपालको श्रम ऐन २०७४ अनुसार आर्थिक समस्यामा परेका,गाभिएका,बन्द हुनुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले तीन दिनअगावै सम्बन्धित युनियन र श्रम कार्यालयलाई जानकारी दिनुपर्नेछ । श्रमिक कटौती गर्दा पहिला विदेशी श्रमिकलाई कटौती गनुपर्नेछ । त्यसपछि खराब आचरण भएका र एकै किसिमको काम गर्ने श्रमिकमध्ये पछि नियुक्ति हुनेलाई कटौती गर्नपर्नेछ । कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक एकमुष्ट प्रदान गर्नेपर्नेछ । कटौती गरेपछि प्रतिष्ठानले पुनः सोही योग्यताका श्रमिक नियुक्त गर्न पाउनेछैन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया