मलेसियाबाट बिरामी छोरा भेट्न आउँदा कम्पनीले माग्यो १ लाख ६० हजार धरौटी

४ बर्ष अगाडि

रोजगारीका लागि मलेसियामा गएका एक नेपालीलाई छोरा विरामी भएपछि भेट्न आउँदा कम्पनीले ६ हजार रिंगेट धरौटी लिएको छ । 

बर्दियाको राजापुर नगरपालिकास्थित फत्तेपुरका बद्री काफ्लेले मृगौला फेल भएका छोरा भेट्न आउँदा ६ हजार रिंगेट धरौटी तिर्नुपरेको हो । 

उनका छोरा शेखरको दुवै मृगौला फेल भएको डाक्टरहरुले बताएका छन् ।  

६ हजार रिंगेटको नेपाली रुपैयाँ १ लाख ६३ हजार भन्दा बढी छ । बद्रीको मासिक तलव रु १ हजार ८ सय रिंगेटमात्र थियो । तर कम्पनीले बिरामी छोरा भेट्नका लागि समेत विदा नदिएपछि ऋण खोजेर उक्त धरौटी बुझाएपछि नेपाल आएको काफ्लेले बताए । 

‘शुरुमा ३ वर्षको सम्झौता नसकिएसम्म बिदा दिन मिल्दैन भनको कम्पनीले नेपालबाट बिरामीका कागजपत्र मगाएर हेरेपछि ६ हजार रिंगिट धरौटी राखेर मात्रै बिदा दियो’, उनले भने    ‘आईसीयूमा रहेको छोराको अनुहार पनि देख्न पाउँदिनँ कि भनेर धेरै आत्तिएको थिएँ, बल्लतल्ल घर आएँ ।’

विदेशमा कमाउन गएको व्यक्ति पनि ऋण खोजेको पैसाले धरौटी बुझाएर फर्कनु परेका उनी छोराको उपचारका लागि रकम नभएको बताउँछन् । ग्राण्डी अस्पत्तालले डायलासिस गर्दा ८ लाख रुपैयाँ लिएपछि शेखरका दुवै मृगौला विग्रेको भनेर जानकारी दिएको आमा गीता काफ्लेले बताइन् । 

‘ग्राण्डीमा हरेक पटक ३ हजार ९ सय तिरेर १४ दिनसम्म  डायलाइसिस गर्दा ८ लाख सकियो’, उनले भनिन् ‘अब त निको होला भनेको बेला अन्तिममा डक्टरले भने दुवै मृगौला बिग्रेका छन् ।’  

सरकारले निःशुल्क डायलाइसिस सुविधाको व्यवस्था गरेपनि आफूलाई छुट नदिएको उनको गुनासो छ ।  ‘छुट हुन्छ भन्ने थाहा पाएर ग्रान्डीका कर्मचारीलाई सोधेँ तर जति पटक सोधे पनि सरकारी कोटा सकिसक्यो मात्र भनेर छुट नै दिएनन्’, उनले भने । 

अहिले उनीहरूको परिवारमा आर्थिक एवं मानसिक संकट चुलिएको छ ।  एकातिर छोराका दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । डाक्टरले शेखरको बाँकी उपचारका लागि २० लाख रुपैयाँ जम्मा गर्नुस् भनेका छन् । अर्कोतर्फ श्रीमती  गीताको पनि पाठेघरमा समस्या देखिएको छ ।

‘मैले छोरालाई मिर्गौला दिए उसको ज्यान बचाउन सकिएला । तर फेरि गरिखानु कसरी ?’ बद्रीले भने  ‘अहिलेसम्म छोराका लागि मिर्गौला दिने कोही भेटिएको छैन, अर्कोतिर आर्थिक समस्या छँदै छ ।’ 

ऋणधन गर्नेठाउँ सकिएको र हजुरआमाले वृद्धभत्ताबापत पाएर जोगाएको १ लाख रुपैयाँ पनि नातिकै उपचारका लागि दिएकोले अहिलेसम्म उपचार भएको छ । 

अब छोराको जीवन बचाउन सबै हितैषीसँग हात थाप्नुपर्ने भएको छ,’ आमा गीता र बाबु बद्रीले एक स्वरमा भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया