गाईभैँसी किन्न किसान लाई गाउँ सरकारद्धारा १८ लाख अनुदान

४ बर्ष अगाडि

गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे ।

गाउँपालिकाको अनुदानबाट शनिबार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ । आठौँ वार्षिक साधारणसभाका अवसरमा भैँसी खरिदका लागि ५० जनालाई  ३० हजारका दरले अनुदान प्रदान गरिएको छ । गाई किन्नका लागि २० जनालाई १५ हजारका दरले अनुदान दिइएको छ ।

गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत ७० जना किसानलाई गाईभैँसी खरिदका लागि अनुदान दिइएको हो । चालू आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि  १८ लाख गाईभैँसी खरिद अनुदान उपलब्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए।

पशुपालनमा प्रोत्साहनका लागि गाउँपालिकाबाट  १८ लाख अनुदान छुट्याइएको थियो, सहकारीमार्फत किसानका हातमा पुर्याइएको छ, वडाध्यक्ष रिसालले भन्ने । गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निर्वाहमुखी मात्र नभई व्यावसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गरे ।

आगामी वर्षका लागि गाईभैँसी खरिदका लागि गाउँपालिकाले  २० लाख अनुदानको व्यवस्था गरिदिनेसमेत अध्यक्ष श्रेष्ठले घोषणा गरे । साधारणसभाका अवसरमा उत्कृष्ट कृषकहरुलाई सम्मानसमेत गरिएको थियो धुस्कुन कृषि सहकारीका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डेरी उद्योग स्थापनाका लागि ३५ लाख बराबरको उपकरण प्रदान गरेको थियो । सहकारीका लागि प्रदेश र स्थानीय सरकारबाट महत्वपूर्ण सहयोग मिलेको भन्दै धुस्कुनलाई दुग्धको पकेट क्षेत्रका रुपमा विकास गरिने सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया