शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

४ बर्ष अगाडि

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीको कृषि फार्ममा सात जना स्थानीय युवा कार्यरत छन् । दिक्तेलस्थित अल्छेढुङ्गामा सञ्चालन गरिएको कृषि फार्ममा काम गर्ने स्थानीय युवाको मासिक तलब  दश हजारदेखि  १५ हजारसम्म छ ।

कृषि फार्ममा काम गर्ने युवालाई खान, बस्न र लगाउन निःशुल्क छ । जोशीको फार्ममा ब्रोइलर कुखुरा, लेयर्स कुखुरा, राँगा, गाई तथा सुँगुर पालिएको छ । १९ वर्षसम्म शिक्षण पेशा गरेका जोशीले आफ्नो पुरानो पेशा छाडेर कृषि व्यवसाय शुरु गरेका हुन । जोशीले पञ्च मावि दिक्तेलमा विसं २०५० देखि विसं २०५६ सम्म र विसं २०५६ फागुनदेखि विसं २०६९ साउनसम्म माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा शिक्षक थिए ।

जोशीको लेयर्स कुखुरा फार्ममा अहिले दैनिक दुई हजार १०० को हाराहारीमा अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको विभिन्न ठाउँ सञ्चालन गरिएको बिक्री केन्द्र तथा मुडे ब्यारेक, हलेसी गुल्म र जिल्ला प्रहरी कार्यालयमा खपत हुने गरेको जोशीले बताए ।

कुखुरापालनका लागि आफ्नो नाममा त्रिशक्ति पोल्ट्री फार्म दर्ता गरेर व्यवसाय शुरु गरेका जोशीले स्थानीय बासिन्दाको समन्वयमा दोर्पा र पाथेकामा उपशाखासमेत सञ्चालन गरेका छन् । करीब आठ वर्षदेखि व्यावसायिक कृषि पेशामा लागेका जोशीले मासुका लागि ब्रोइलर कुखुरा, सुँगुर र राँगा तथा दूधका लागि गाई र अण्डाका लागि लेयर्स फार्म खोलेका छन् ।

जिल्लामा पहिलोपटक कुखुरा फार्म शुरु गरेका जोशीले पछिल्लो समय अन्य कृषकलाई समेत एकीकृत बनाएर कालिका कृषि सहकारी खोलेका छन्। जोशी सो संस्थाका संस्थापक तथा अहिले पनि अध्यक्ष हुन । व्यवसायी जोशीले आसपासका नौवटा ब्रोइलर फार्मलाई दाना, चल्ला, औषधि दिनुका साथै निःशुल्क प्राविधिक सेवासमेत उपलब्ध गराउँदै आएका छन् । जोशीको र्फाममा उत्पादित राँगा, कुखुरा र दूध जिल्लामै उपयोग हुन्छ भने, सुँगुर राजधानी काठमाडौँ पठाउने गरिएको जनाइएको छ ।

आफ्नै २२ रोपनी जग्गामा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जोशीको सबै खर्च कटाएर मासिक आम्दानी  ८० देखि ९० हजारसम्म हुने गरेको पाइएको छ । जिल्लामा अहिले ब्रोइलर कुखुराको मासु प्रतिकेजी  ४००, सुँगुर  ३०० र राँगा प्रतिकेजी  ३५० मा पाइन्छ । अण्डा प्रतिकार्टुन (२१० दाना)लाई दुई हजार ३०० र दूध प्रतिलिटर ७० मा बिक्री हुने गरेको पाइएको छ ।

एक छोरी र एक छोराका बुबा जोशीले अहिलेसम्म सरकारी निकायले केहिमा पनि साथ नदिएको बताए । जिल्लामा केहि गरौँ भनेर कृषि व्यवसाय शुरु गरियो, उन्ले भन्ने,सरकारी निकायबाट बाहिरी आयातलाई रोक लगाउँदै सहुलियत ऋण उपलब्ध गराएमा थप केही गर्न सकिन्छ भन्ने लागेको छ ।

अण्डा र कुखुराको मासुमा जिल्ला आत्मनिर्भर रहेको घोषणा गरिए पनि बाहिरी आयातमा रोक नलगाउँदा घाटाको व्यापार गर्नुपरेको जोशीले बताए । जोशीको फार्ममा पालिएका सुँगुर, राँगा र गाईलाई सोही फार्ममा उत्पादन गरिएको घाँस तथा दाना दिने गरिएको त्यहाँका कामदारले बताएका छन् ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया