निःशुल्क सञ्चालन हुँदैछन् कम्युटर मर्मत लगायत २४ प्रकारका तालिम

४ बर्ष अगाडि

सीप सिकेर आत्मनिर्भर बनाउनका लागि उद्योग मन्त्रालयले विभिन्न २४ प्रकारका तालिमहरु निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । 

उद्योग मन्त्रालय अन्तर्गतको राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले पहिला तालिम लिएकाहरुलाई सीप अभिबृद्धि (एड्भान्स) र नयाँको लागि सीपमुलक (बेसिक) तालिम सञ्चालन गर्न लागेको हो । 

सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ, फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् । 

यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम तय गरिएको छ । 

तालिममा छनोट गर्दा मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरु र एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरी आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ । 

इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने शुक्रबार प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया