जाडो बढेसँगै राडीपाखीको कारोवार बढ्यो

४ बर्ष अगाडि

जाडो बढेसँगै रुकुमपूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो । भेडाको ऊन,अल्लो,केतुके,केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो ।

स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी,स्वीटर,गलबन्दी,ज्याकेट,रुमाल,कम्बल,टोपीलगायत वस्तुको कारोवार बढेको स्थानीय व्यापारीले बताएका छन् । जिल्लामा वर्षेनी असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गर्छ । पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडापालन गरिने भएकाले भेडाको ऊनबाट विभिन्न प्रकारका न्यानो कपडा तयार पारिन्छ ।

एउटा राडीपाखीको मूल्य  एक हजार ५०० देखि  पाँच हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–५ की सूर्यकुमारी पुनले बताइन् । राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ । उत्पादन गरेको कपडाले राम्रै बजार पाएको छ,उनले भन्ने

भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बढ्दै गएपनि मागअनुसारको कपडा उत्पादन गर्न नसकेको उनको भनाइ छ । जिल्लाको तकसेरा,कोल राङ्सी,सिस्ने,हुकाम,मैकोट,जाङ, काँक्रीलगायतका महिला राडीपाखीको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

भुमे गाउँपालिका–८ की भोगीलाख विक प्रत्येक वर्ष आफैँले तयार पारेका राडीपाखी बिक्रीबाट  दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताए। कपडा किन्न व्यापारी घरमै आउने गरेका छन्,उनले भन्ने । रुकुमपूर्वमा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा,काठमाडौँ,नेपालगञ्ज,सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया