मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती

४ बर्ष अगाडि

कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ ।

दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘ड्रागन फ्रुट’ मात्र नभएर स्ट्रबेरी, मेवा र कागतीको पनि व्यावसायिक खेती गरिरहेको छ ।

यो खेती उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने हुँदा यहाँको माटो यसका लागि उर्वर रहेको प्रालिका व्यवस्थापक नवीन खनालले बताए । हाल यहाँ अहिले ६ हजार बिरुवा हुर्किरहेका छन् । एक हजार ५०० वटा आठ फिटभन्दा अग्ला सिमेन्टका पोल लहरै गाडिएका छन्

एउटा सिमेन्टको पोलमा चार वटा लहरा हुर्किरहेका छन् । खेतीमा १५ जना स्थानीय कामदारले रोजगारी पाइरहेका छन् । गोल्यान समूहले ‘ड्रागन फ्रुट’ खेतीमा  दुई करोडभन्दा बढीको लगानी गरिसकेको र अर्को वर्ष खेती विस्तार गरेर तेब्बर पार्ने योजना रहेको व्यवस्थापक खनालले बताए । दाङ र काभ्रेमा पनि ‘ड्रागन फ्रुट’को खेती भइरहेको छ ।

यो फल विसं २०५७ मा पशु चिकित्सक डा जगन्नाथ राईले एक अमेरिकी इञ्जिनीयरमार्फत भियतनामबाट नेपाल भित्र्याएको मानिन्छ । खनालका अनुसार सिउडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिन तत्वको मिश्रण पाइने भएकाले विश्वभर नै यसले महङ्गो मानिन्छ ।

एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट वर्षेनी २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य  आठ सयदेखि  एक हजारसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिङ्क पनि बनाउन सकिन्छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया