क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता

५ बर्ष अगाडि

काठमाडौँ– नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । 

दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, वसन्त रेगमी र दिपेन्द्रसिंह एैरीले समान एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो । 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । 

सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने आठ, अनिलकुमार साह चार, ललित भण्डारी चार, रोहितकुमार पौडेल छ तथा वसन्त रेग्मीले एक रनमात्र जोडे । 

बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई÷दुई विकेट लिए । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । योसँगै २ खेलको सिरिज १÷१ को बराबरीमा सकिएको छ । 

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो । 

सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले आठ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो । नेपालले सन् १९९६ मा आइसिसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्राट्रिय क्रिकेट खेल्न थालेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया