शनिबार पर्सामा कोरोना संक्रमण पुष्टि भएका तीनजना भारतीय नागरिक रहेको खुलेको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका नागरिक भएको खुलेको हो ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए ।
घर फर्कन मार्च ४ तारिकमा फर्कने ट्रेन टिकेट लिएको भए पनि लकडाउनका कारण रोकिएका उनीहरुले फेरी १५ अप्रिलका लागि टिकट काटेका छन् ।
तर घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेका थिए ।
कार्यक्रमका लागि भारतबाट आएका २४ जना मस्जिदमा बस्दै आएका छन् । उनीहरुलाई प्रहरीसँग समन्वय गरेर बेग्लै राखएिको को मस्जिदका मौलाना अलि असगरले बताए ।
उनीहरु २४ जना सहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
हेटौंडाको प्रयोगशालामा पोजेटिभ देखिएपछि शुक्रबार नारायणी अस्पताललाई जानकारी गराइएको थियो ।
शुक्रबार नै उनीहरुलाई जामे मस्जिदबाट नारायणी अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।
प्रतिक्रिया