काठमाडौं- विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताएकी छिन् । आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर गरिन।
‘बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो हुनुहुन्छ । बिरामीलाई यतिधेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन् । एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन । डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ ।’
नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको भन्दै उनले भनिन् । डा यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिँदै बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले गर्नुभएको योगदानलाई प्रत्येक बिरामीहरुले धन्यवाद दिनुपर्ने पनि बताईन्।
‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन । बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ ।’,उनले भनिन् ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफुलाई फ्लोरेन्स नाइटेङ्गल बनाउन प्रेरित हुनुपर्ने बताए । फ्लोरेन्स नाइटेङ्गलले विश्वकै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको स्मरण गर्दै आइसियूको सुरुवात पनि फ्लोरेन्स नाइटेङ्गलकै अवधारणा रहेको चर्चा गरे । कलेजको स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै प्रा डा मरहठ्ठाले नर्सहरुको पेशागत हित र व्यवसायिक दक्षता अभिबृद्धिमा कलेज सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रतिक्रिया